धरान: ललितपुरमा भइरहेको प्लस टु लेवल अक्सव्रिज थ्री बाई थ्री बास्केटवल प्रतियोगितामा धरान १२ स्थित धरान मेघा हिमालयन कलेजका बास्केटवल टिमले पनि सहभागिता जनाएको छ ।

नेपाल बास्केटवल संघको सहकार्यमा आज देखि शुरु भएको प्रतियोगितामा धरान मेघा कलेज नकआउट चरणमा पुगेको छ । धरान मेघाले एक खेलमा जित र एक खेलमा हार व्यहोरे पनि प्रतियोगिताको टप १४ मा पुग्दै नकआउट चरणमा प्रवेश गरेको हो। प्रतियोगिता उदघाटनको दिन आज भएको खेलमा धरान मेघाले काठमाण्डौको ओमेगालाई १२–६ अंकको अन्तरले पराजित गरेको थियो । यस्तै, अर्को खेलमा काठमाण्डौकै नामीसंग ८–४ अंकले पराजित भएको थियो ।

धरान मेघा कलेज बास्केटवल टिमको प्रतिनिधित्व गर्दै धरान मेघा कलेजका प्रिन्स राई, डेनिस लिम्वु, पारुहाङ लिम्वु, तोङहाङ लिम्वु सहभागी छन् भने प्रशिक्षक तथा व्यवस्थापकमा प्रदेश १ का महिला बास्केटवल खेलाडी आस्था राई र निवा लिम्वु सहभागी छन् । प्रतियोगितामा २२ वटा टिमले सहभागिता जनाएको छ । मोफसलबाट धरानको मेघा कलेजको मात्र सहभागिता रहेको छ । 

खेलाडी तथा प्रशिक्षकलाई धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वुले सफलताको शुभकामना दिदै हिजो बिहिवार विदाई गरेका थिए । विदाइको क्रममा मेघा कलेजले प्रतियोगितामा जितहार भन्दा पनि विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराएर उनीहरुलाई प्रोत्साहन र अवसर प्रदान गर्ने उद्देश्य रहेको अध्यक्ष लिम्वुले बताए ।