धरान: सुनसरीको १२ वटा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुको न्यायिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रमले ५ बुँदे प्रतिवद्धता जारी गरेको छ । 

धरान ४ स्थित देवीथानमा मंगलबार आयोजित कार्यक्रमबाट सुनसरीका १२ वटै पालिकाका न्यायिक समिति पदाधिकारीहरुले उक्त प्रतिवद्धता जारी गरेका हुन् । उक्त प्रतिवद्धतालाई कार्यक्रमको आयोजक धरान उपमहानगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक अइन्द्रबिक्रम बेघाले पढेर सुनाएका थिए । 

न्यायिक समितिका पदाधिकारीहरुले न्याय सम्पादन प्रक्रियामा १२ वटै स्थानीय तहका न्यायिक समितिहरुमा एकरुपमा कायम गर्ने प्रतिवद्धता जनाएका छन् । यसैगरि, न्याय सम्पादन सम्बन्धी कानुन निर्माण, संशोधन तथा परिमार्जन गर्दा समन्वय, सहकार्य तथा नमुना कानुनको आदनप्रदानको माध्यमबाट एकरुपता कायम गर्ने पनि प्रतिवद्धता उक्त भेलाले जनाएको छ । 

‘एक स्थानीय तहले अर्को स्थानीय तहको न्यायिक प्रक्रियामा आआफ्नो क्षेत्रबाट पुर्णरुपमा सहयोग गर्ने,’प्रतिवद्धताबारे जानकारी दिदै धरानका उपप्रमुख बेघाले भने,‘न्यायिक समितिको कानुनी क्षेत्राधिकारको स्पष्टताका लागि सम्बन्धित निकायमा सामुहिकरुपमा अनुरोध गर्दै जाने ।’ भेलाले न्याय सम्पादनलाई थप प्रभावकारी बनाउन तथा न्यायिक समितिको असल अभ्यासको आदनप्रदान गर्न न्यायिक समिति भेटघाट कार्यक्रमलाई निरन्तरता प्रदान गर्ने पनि प्रतिवद्धता उक्त भेलाले गरेको छ । 

उपमेयर बेघाका अनुसार भेलामा १२ वटा पालिकाका न्यायिक समितिका संयोजक, २ जना सदस्य, उजुरी प्रशासक तथा कानुन अधिकृतहरु सहभागी भएका थिए । भेला तथा अन्तरक्रियामा पालिकाहरुले न्याय सम्पादन गर्दाको अनुभव र शिक्षा आदनप्रदान हुनुको साथै न्यायिक काम कारबाहीहरुलाई कसरी व्यवस्थित गरेर जाने भनेर छलफल भएको उपप्रमुख बेघाले जानकारी दिए । ‘आआफ्नो पालिकामा न्यायिक निरुपण के कसरी भइरहेको छ, भनेर अनुभव आदनप्रदान भयो । यस्तो कार्यक्रम भविष्यमा क्रमशः अन्य पालिकाहरुले पनि आयोजना गर्नेछ,’ उनले थपे ।

nyayik1

रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाले सुनसरीको न्यायिक समितिहरुको सञ्जाल बनाएर जानुपर्ने धारणा राखिन् । उनले राजनीतिक पृष्ठभुमीबाट आएका उपप्रमुख, उपाध्यक्षहरुलाई न्यायधिशको भुमिका निर्वाह गर्न निक्कै चुनौती रहेको पनि बताइन् । ‘यो जिम्मेवारी वहन गर्न चुनौती छ । राज्यले पनि उपप्रमुखहरुलाई बढी जिम्मेवारी दिएको अनुभव हुन्छ । तर जिम्मेवारी वहन गर्न सक्छौं भन्ने प्रमाणित गरिरहेका पनि छौं,’ उनले भनिन्,‘कार्यक्रम धेरै फलदायी भएको छ, समस्याहरु प्रस्तुत भयो, र समाधानबारे पनि छलफल गर्यौं ।’ 

यस्तै, कोशी गाउँपालिकाकी उपाअध्यक्ष अनितादेवी यादवले पहिलो पटक २०७४ मा उपाध्यक्षमा निवार्चित भएर न्यायिक समिति संयोजक हुँदा शुरुवातमा निक्कै गाह्रो भएको बताइन् । वडाअध्यक्षलाई न्यायिक समितिमा बसेर सहयोग गर्न आग्रह गर्दा भोट घट्छ भनेर बस्न नमानेको उनले सुनाइन् । ‘तर मैले राम्रोसँग जिम्मेवारी वहन गरे, र फेरि २०७९ मा पनि दोहोरिए । राम्रो काम गर्दा भोट नघट्ने रहेछ,’ उनले भनिन् ।

कार्यक्रमको उद्घाटन धरानका मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यमा भएको थियो । मेयर साम्पाङले निष्पक्षता नै न्याय हुने धारणा राखेका थिए । कार्यक्रमको उद्घाटन समारोहलाई धरानका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, इटहरी उपमहानगरकी उपमेयर संगीता चौधरी, इनरुवा नगरपालिकाकी उपमेयर विनिताकुमारी मेहता, बर्जु गाउँपालिकाकी उपाध्यक्ष नितुकुमारी चौधरी, धरान वडा ४ का अध्यक्ष धनबहादुर राईले पनि मन्तव्य व्यक्त गरेका थिए । 

भिडियो:

भिडियो: