धरान: चीनको हाङझाउमा १९ औं एसियाली खेलकुद जारी छ । नेपाली क्रिकेट खेलाडीहरुले विश्व किर्तिमान बनाएर चर्चामा आएपनि पदकमा भने नेपालको निराशाजनक अवस्था छ । 

हाङझाउ एसियाली खेलकुदमा नेपालबाट गल्फ खेल्न ६ जना गल्फ खेलाडीहरु गएका थिए । ती मध्ये २ जना धरानका युवा गल्फर हुन् । प्रोफेस्नल गल्फर शुक्रबहादुर राई र एमेच्योर खेलाडी युवराज भुजेल हाङझाउमा गल्फ खेलेर स्वदेश पनि फर्किसकेका छन् । शुक्र नेपालकै नम्बर वान प्रोफेस्नल गल्फर हुन् भने युवराज एमेच्योरमा तेस्रो स्थानका खेलाडी हुन् । 

गल्फमा पनि नेपाल पदकविहिन भयो, तर खेलाडीहरु भने आशावादी भएर फर्किएका छन् । पदकविहिन भएर फर्कदा पनि खेलाडीहरु उत्साही देखिनुको कारण छ, उनीहरुले आगामी सँस्करणमा पदक जित्ने सम्भावना देखेका छन् । यो बर्ष राज्यले खेलाडीहरुलाई राम्रो सुविधा दिएको कारण पनि प्रर्दशन सुधार भएको नम्बर वान खेलाडी राईले बताए । ‘यो पटक सरकारले राम्रो फेसिलिटी दियो, त्यसैले २०१८ को भन्दा राम्रो प्रर्दशन भयो,’ उनले भने,‘यसपाली जस्तै फेसिलिटी र प्रशिक्षण भयो भने अर्को ४ बर्षमा हुने एसियन गेममा पदम जित्ने सम्भावना हुन्छ ।’

golf1

एसियाली खेलकुदमा एसिया मात्र होइन, विश्वका उत्कृष्ट सयको सुचीमा रहेका खेलाडीहरु पनि थिए । त्यसैले नेपालका युवा खेलाडीहरुलाई अनुभव बटुल्ने अवसर पनि भयो । गल्फमा नेपाल यसपटक १२ औं स्थानमा रह्यो । अघिल्लो सँस्करणभन्दा यो धेरै राम्रो सुधार भएको हो । सन् २०१८ को एसियाली खेलकुदमा पनि शुक्र सहभागी थिए । त्यसबेला उनीसँग अनुभव कम थियो । यो चार बर्षमा उनी एमेच्योरबाट प्रोफेस्नल खेलाडी मात्र भएनन्, नेपालका नम्बर वान खेलाडी बनेका छन् भने इण्डियन टुर पिजिटिआई पनि खेलेर खेल क्षमतालाई थप परिपक्क बनाइरहेका छन्।

व्यक्तिगततर्फ नेपालका शुक्रले मात्र २ दिनको खेल समाप्तीपछि कट जोगाउन सफल भएका थिए । तर तेस्रो दिन १२ होल खेलेपछि उनको स्वास्थ्यले साथ दिएन, र उनी खेलबाट बाहिरिनु पर्यो । उनी हाङझाउ जानुअघि २ महिना जर्मनीमा बसेर प्रशिक्षण लिएका थिए भने भारतमा २ वटा प्रतियोगिता खेलेपछि एसियन गेम्स खेल्न चीन गएका थिए ।

यस्तै, अर्का खेलाडी युवराज पनि हाङझाउ जानुअघि भारतको बैंलोरमा प्रशिक्षण गरेका थिए । एसियन गेम उनको पहिलो सहभागीता थियो । पहिलो पटककै सहभागितामा उनले पनि महशुस गरेका छन्, आगामी सँस्करणमा नेपालले पदक जित्ने सम्भावना छ । ‘गल्फको टुर, प्रतियोगिताहरु जति धेरै भयो, हामी खेलाडीहरुलाई धेरै अनुभव हुन्छ । अभ्यास गर्ने अवसर पाउछौं,’ उनले भने,‘अर्को पटक पक्कै राम्रो नतिजा आउछ ।’