धरान: धरान प्रतिभाशाली युवा गल्फर शुक्रबहादुर राई भारतको क्वालिफाई गल्फ खेल्न प्रस्थान गरेका छन् । 

उनलाई मंगलबार धरानका मेयर तथा नेपाल गल्फ एशोसिएशनका केन्द्रीय उपाध्यक्ष तिलक राई, वडा नं १८ का वडाअध्यक्ष प्रविण राई, नेपाली कांग्रेसका सचिव हिमाल श्रेष्ठले खादा लगाएर विदा गरेका थिए । मेयर राईले व्यक्तिगतरुपमा शुक्रलाई भारु १ हजार र नेपाली १० हजार रुपैयाको चेक हस्तान्तरण पनि गरेका थिए । धरानको उत्पादन शुक्र नेपालकै नम्बर वान प्रोफेस्नल खेलाडी भएकोले सम्पुर्ण धरानेहरुले गौरव गर्नुपर्ने भन्दै मेयर राईले खेल जीवनको प्रगतिको शुभकामना व्यक्त गरे । साथै उनले शुक्रलाई धराने गल्फरहरुले धेरै लगानी गरेको र उनले पनि इमान्दारितापुर्वक प्रशिक्षण लिएर खेलेको भन्दै प्रंशासा पनि गरे । 

शुक्र करिब २ बर्षअघि मात्र प्रो टर्न (व्यवसायिक) खेलाडी भएका हुन् । यति छोटो समयमा नै उनी नेपालको नम्बर वान प्रोफेस्नल खेलाडी हुन सफल भएका छन् । उनले हालै मात्र धरानमा सम्पन्न सुर्य नेपाल इष्र्टन ओपन र काठमाण्डौंमा सेन्ट्रल ओपन जितेका थिए ।

क्वालिफाइमा कट जोगाए सबै प्रतियोगिता खेल्न पाउने

भारतको गुजरातस्थित अहमदाबादमा टाटा स्टिल प्रोफेस्नल गल्फ टुर अफ इण्डिया २०२२ क्वालिफाइ स्कुल आयोजना हुदैछ । फेबु्रअरी १० तारिख रजिष्ट्रेशन हुनेछ भने ११ र १२ तारिख प्रि क्वालिफाई हुनेछ । यस्तै, १४ मा पुनः रजिष्ट्रेसन भएर १५ र १६ मा भएको खेलमा कट जोगाउन सक्नेहरु १७ र १८ गते फाइनल खेल्न पाउछन् । 

शुक्रका अनुसार प्रि क्वालिफाइमा १ सय २० हाराहारीमा खेलाडीहरु सहभागी हुन्छन् । ती मध्ये प्रि क्वालिफाईबाट ८० जना छनौट हुन्छन् । त्यसमध्ये पनि फाइनलको लागि ४०÷५० जना मात्र फाइनलको लागि छनौट भएर फुल कार्ड पाउछन् । फुल कार्ड पाउने खेलाडीले भारतमा हुने सबै प्रोफेस्नल गल्फ प्रतियोगिता खेल्न पाउनेछन् । ‘मेरो लक्ष्य फुल कार्ड पाउने र भारतको गल्फ टुर खेल्ने हो,’शुक्रले भने । 

sukra-bidai1

sukra-golf2

sukra-golf3