धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि अब सरकार गठनको अन्तिम विकल्प मात्र बचेको छ । 

मुख्यमन्त्री कार्कीले आज (शनिबार) विश्वासको मत लिने तयारी गरेपनि बहुमत पुग्ने अवस्था नरहेपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरे । लगत्तै उनले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राजीनामा पत्र बुझाए । उनी  सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठुलो दलको संसदीय नेताको हैसियतमा भदौ २२ मा मुख्यमन्त्री भएका थिए । अल्पमतको मुख्यमन्त्री भएका कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो।

अब संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ । वर्तमान प्रदेशसभाको लागि सरकार गठनको यो अन्तिम विकल्प मात्र हो । धारा १६८ को उपधारा ५ मा, ‘उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने छ ।’

संविधानको यो प्रावधान अनुसार सरकार गठन हुन सकेन वा यस उपधाराअनुसार नियुक्त हुने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत पाएनन् भने प्रदेशसभा स्वतः विघटन भएर मध्यावधि निर्वाचन हुनेछ। प्रदेशसभामा रहेका दलहरु भने मध्यावधि निर्वाचनमा जान नहुने पक्षमा छन् । तर, केन्द्रीय सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमाले कसैको पक्षमा पनि स्पष्ट बहुमत नभएको कारण प्रदेशसभा बिघटनको डिलमा पुगेको हो ।

राजिनामा घोषणको क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेशको स्थायीत्वको लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । उनले मध्यावधि जनताको चाहना नभएकोले यसलाई रोक्न आफ्नो दल जस्तो सुकै त्याग गर्न तयार रहेको बताएका थिए ।

प्रदेश सरकार गठनको अन्तिम विकल्प मात्र बाँकी रहेको अवस्थामा अब कस्को नेतृत्वमा सरकार गठन हुन्छ भन्ने चासो व्यप्त छ । मुख्यमन्त्रीको लागि कांग्रेस, माओवादीले दाबी गर्न थालिसकेको छ । संविधानको धारा १६५(५) मा प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाउने प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेश गर्ने प्रावधान रहेकोले गठबन्धनबाटै सरकार बनाउने तयारी पनि छ। गठबन्धनबाट यस्तो तयारी रहेपनि सरकारको नेतृत्व कसले गर्ने टुंगो भने भइसकेको छैन । गठबन्धनका प्रमुख दुई दल कांग्रेस र माओवादी केन्द्रका नेताहरूले आ–आफ्नो दाबी अघि सारेका छन् ।

पूर्व मुख्यमन्त्री एवम् कांग्रेस नेता उद्धव थापाले शनिबार प्रदेशसभा परिसरमा पत्रकारहरूसँग कुरा गर्दै २ पटक मुख्यमन्त्री बनेपछि काम गर्ने मौका नपाएकोले आफ्नो दाबी रहने बताए । तर, निर्णयको अधिकार शीर्ष नेताहरुसँग रहेको उनले बताए । माओवादीका नेता इन्द्र आङ्बोले भने कांग्रेसले २ पटक अवसर पाए पनि बहुमत सिद्ध नभएकोले अब सरकारको नेतृत्व गर्न माओवादीको दाबी रहने बताए । माओवादी नेतृत्वमा सरकार बनेमा बहुमत जुटाउन सहज हुने पनि उनले बताए ।