धरान: प्यालेस्टाइनको लडाकु समूह हमासले इजरायलमा शनिबार गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीहरूको पनि मृत्यु भएको छ।

हमासले गरेको आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेको बताइएको छ । शनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो।

इजराइलका लागि नेपाली राजदूत कान्ता रिजालले सञ्चारमाध्यमहरुलाई दिएको जानकारी अनुसार किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । उक्त घटनाको जानकारी परराष्ट्र मन्त्रालयमा पनि गराएको राजदुत रिजालले सञ्चारमाध्यमहरुलाई बताएकी छिन् । घाइते विद्यार्थीहरुलाई तुरुन्त उपचारको प्रबन्ध गर्न इजराइलको सबै तहमा प्रयास गरेको तर सफल हुन नसकेको पनि उनले बताएकी छिन् । 

इजराइलमा चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने एक जना बेपत्ता भएका छन् । शनिबार बिहान ६ बजेदेखि ७ बजेको समयमा उनीहरु बसेको क्याम्पभित्र हमासका लडाकुहरु प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ ।

ती विद्यार्थीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् ।

यो विश्वविद्यालयले सेदोत नेगेभ कृषि तालिम केन्द्रमा ४९ जना नेपाली विद्यार्थीहरु पठाएका थिए । जसमध्ये ११ जना छात्रा छन् । ३२ जना कृषि विद्यार्थीहरु भने बिभिन्न कृषि फार्ममा रहेको वंकरमा सुरक्षित रहेको बताइएको छ । इजरायलस्थित नेपाली राजदूतावासले मृत्यु भएकाहरूको विवरण पठाए पनि परराष्ट्र मन्त्रालयले भने औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

आइतबार संसद बैठकमा बोल्दै परराष्ट्र मन्त्री एनपी साउदले  इजरायलमा केही नेपाली हताहत भएको बताएका थिए। उनका अनुसार इजरायलमा अहिले चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेका छन् भने दुई सय ६५ जना विद्यार्थी अध्ययनरत छन्।