धरान: स्थानीय तहका कर्मचारीहरुले काठमाण्डौंमा जारी राखेको केन्द्रीय संघर्ष समितिको आन्दोलनमा धरान उपमहानगरपालिकाका कर्मचारीहरुले पनि ऐक्यवद्धता जनाएका छन् ।

मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा र प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईलाई मंगलबार ज्ञापन पत्र बुझाउदै धरानका कर्मचारीहरुले पनि आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । उनीहरुले केन्द्रीय संघर्ष समितिको घोषणा अनुसार अत्यावश्यक बाहेकका अन्य सम्पुर्ण सेवाहरुमा पेन डाउन गर्ने भएका हुन् । कर्मचारीहरुले उपमहानगरपालिका र वडा कार्यालयको सेवामा पनि अत्यवश्यक बाहेकमा पेन डाउन गर्ने घोषणा गरेका हुन् ।

आन्दोलनको लागि समन्वय गर्न गठित समितिका संयोजक वेदप्रसाद सापकोटाका अनुसार वारुण यन्त्र, स्वास्थ्य र पञ्जिकाधिकारीको काम बाहेक अन्य सेवाहरु अवरुद्ध हुनेछ । सरकारसँग विभिन्न माग राखेर विगत ११ दिनदेखि काठमाण्डौंमा आन्दोलनरत स्थानीय तहका कर्मचारीहरुलाई सोमबार प्रहरीले लाठी चार्ज गरेर दमन गरेको विरोधमा आफुहरु पनि आन्दोलित भएको उनले बताए । 

pen down1

कर्मचारीहरुबाट ज्ञापन पत्र बुझ्दै मेयर र उपमेयर दुवैले जायज माग सरकारले पुरा गर्नुपर्ने बताए । तर, जनताको सेवा प्रवाहलाई अवरुद्ध नपार्न पनि दुवै जनाले कर्मचारीहरुलाई आग्रह गरेका थिए । स्थानीय तहका कर्मचारीहरुले आफुहरुलाई निजामति कर्मचारीभन्दा भिन्न व्यवहार गरेको भन्दै चर्को असन्तुष्टी व्यक्त गरिरहेका छन् । 

स्थानीय तहका कर्मचारीहरुले संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनुपर्ने, संवैधानिक निकायमा संघीय निजामती सेवाबाट नभई छुट्टै सेवा गठन गरी कर्मचारी व्यवस्था गर्नुपर्ने, स्थानीय सेवालाई पनि निजामती सेवा बनाई प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय निजामती सेवाकै हुनुपर्ने, स्थानीय सेवाका कर्मचारीलाई बिना कुनै अवरोध अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, निजामती अस्पतालमा निजामती कर्मचारीले पाउने जति सबै सुविधा स्थानीय कर्मचारीलाई पनि दिइनुपर्ने, सबै तहका कर्मचारीलाई सेवा, सुविधा र वृत्ति विकासमा समानता हुनुपर्ने माग कर्मचारीहरुको छ ।

यस्तै, तीनै तहका कर्मचारीहरुलाई जुनसूकै सेवामा प्रवेश गर्न उमेर हद नलगाइनुपर्ने र सेवा अवधि गणना गर्नुपर्ने, प्रदेश निजामती किताबखानाको तुरुन्त स्थापना तथा सञ्चालन गर्नुपर्ने, सरकारको छात्रवृत्ति कोटामा स्थानीय तहका कर्मचारीका लागि छुट्टै कोटाको व्यवस्था गर्नुपर्ने जस्ता मागहरु राखेर आन्दोलनमा उत्रिएका हुन् ।

भिडियो: