धरान: असोज १५ गतेको कार्यपालिका बैठकले धरान क्षेत्रमा राती ११ बजेसम्म होटल तथा रेष्टुरेष्ट खोल्न अनुमति दिने निर्णय गर्दै जिल्ला सुरक्षा समितिमा सिफारिश गर्ने निर्णय गरेको थियो । 

धरान १५ को चर्चित पर्यटकीय क्षेत्र बगरकोटको होटल, रेष्टुरेष्टको लागि लक्षित उक्त प्रस्ताव वैठकमा पेश भएपनि कार्यपालिकाले भने धरान भरि नै ११ बजेसम्म होटल, रेष्टुरेष्ट खोल्न अनुमति दिने सिफरिशको निर्णय गरेको थियो । होटल व्यवसायीहरुको माग वमोजिमको उक्त निर्णय जिल्ला सुरक्षा समितिमा पनि पठाइएको थियो । 

कार्यपालिकाको यो निर्णयले खुशी भएका होटल व्यवसायीहरु भने अहिले निराश छन् । जिल्ला सुरक्षा समितिले कार्यपालिकाको निर्णय विपरीत राती ९ बजेसम्म मात्र होटल, रेष्टुरेष्ट खोल्न अनुमति दिने निर्णय गरेको छ । यो निर्णयबारे हिजो (बुधबार) सुनसरी उद्योग वाणिज्य संघ धरानले आयोजना गरेको कार्यक्रममा व्यवसायीहरुले चर्को असन्तुष्टी जनाए । तर, जिल्ला सुरक्षा समिति संयोजक एवं प्रजिअ हुमकला पाण्डेले शान्तिसुरक्षा, अपराधिक घटनालाई लक्षित गरेर दशैं,तिहार र छठ पर्वसम्मको लागि निर्णय गरिएको भन्दै निर्णय संशोधन नहुने संकेत गरिन् ।

यता, स्थानीय सरकार प्रमुख एवं मेयर हर्क साम्पाङले भने कार्यपालिकाले निर्णय गरेर पठाएकोले राती ११ बजेसम्म होटलहरु खोल्न पाइने जिकिर गरेका छन् । क्लिकधरानसँग प्रतिक्रिया दिदै मेयर साम्पाङले धरानमा कुनै आपतकालिन अवस्था नभएकोले राती ९ बजे नै होटल, रेष्टुरेष्ट बन्द गराउनुको अर्थ नरहेको बताए । उनले भने, ‘स्थानीय सरकारले राती ११ बजेसम्म होटल, रेष्टुरेष्ट खोल्न अनुमति दिने निर्णय गरेको हो । यो लागु हुनुपर्छ । व्यवसायीहरुलाई ११ बजेसम्म खोल्नुस् भन्छु ।’

सुरक्षा समिति र प्रशासनले राती ९ बजे नै होटल बन्द गराउने निर्णय गरेकोबारेमा उपमहानगरपालिकालाई कुनै जानकारी नआएको पनि उनले बताए । विगतमा १० बजेसम्म होटल खोल्न पाइरहेका व्यवसायीहरु अहिले प्रशासनले गरेको निर्णयले मारमा परेको गुनासो गरिरहेका छन् । मेयर साम्पाङले पनि जनताबाट निवार्चित जनप्रतिनिधि र कार्यपालिकाले गरेको निर्णय विपरीत ९ बजे नै होटल, रेष्टुरेष्ट बन्द गराइरहेकोमा चर्को असन्तुष्टी जनाएका छन् । ‘प्रहरीले ९ बजे नै बन्द गराउछ भने व्यवसायीले फेरि खोल्छ । स्थानीय सरकारले गरेको निर्णय हो,’ उनले भने । 

पछिल्लो समयमा प्रहरी प्रशासनसँग मेयर साम्पाङको द्धन्द सतहमै देखिएको छ । शान्ति सुरक्षा दिन नसकेको भन्दै मेयर साम्पाङले धरानका डिएसपी नवराज मल्लको सरुवा गर्न सामाजिक सञ्जाल फेसबुकमा मात्र लेखेनन्, संविधान दिवसको दिन आयोजित कार्यक्रममा सार्वजनिक अभिव्यक्ति दिए भने गृहमन्त्रालयमा पत्राचार पनि गरे । उनको यो कार्यले प्रहरी तथा गृहप्रशासन उनीसँग रुष्ट छ । शान्ति सुरक्षाको बिषयमा स्थानीय सरकार र प्रहरी, प्रशासनबीच समन्वय, सहकार्यको अभाव देखिएको छ ।

यसको असर राती ९ बजे नै होटल बन्द गराउने निर्णय भएको र मारमा आफुहरु परेको गुनासो व्यवसायीहरुको छ । मेयर साम्पाङ भने डिएसपीसँगको बिषय र होटल राती ११ बजेसम्म खोल्न अनुमति दिने बिषय अलग भएको बताउँछन् । उनले राती ११ बजेसम्म होटल खोल्ने निर्णय आफ्नो नभै कर्यापालिकाको निर्णय भएकोले स्थानीय सरकारको निर्णय लागु हुनुपर्ने प्रतिक्रिया दिए । 

भिडियो: