धरान: उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरी न्युन गुणस्तर तथा दुषित खाद्य वस्तु उत्पादन गरेर बजारमा बिक्रीवितरण गर्ने ५ वटा उद्योगविद्धरु मुद्दा दायर भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीले अनुसन्धान पुरा गरेर असोज महिना ५ वटा उद्योगविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको हो । ती मध्ये ३ वटा मुद्दा पिउने पानी उत्पादन गर्ने उद्योग विरुद्ध रहेको छ भने एउटा मैदा र अर्को घिउ उत्पादन गर्ने उद्योग रहेको छ । चालु आर्थिक बर्षमा अनुसन्धान पुरा गरेर ५ मुद्दा दायर भएको र अन्य ३० वटा भन्दा बढी मुद्दाहरुको अनुसन्धान भइरहेको खाद्य निरीक्षक एवं सुचना अधिकारी बादल चेम्जोङले जानकारी दिइन् । 

यो बर्ष सबैभन्दा पहिला इटहरीस्थित गोर्खा प्याकेजिङ उद्योगविरुद्ध असोज १० गते मुद्दा दर्ता भएको छ । उक्त उद्योगले उत्पादन गरेको मैदामा लेबल नभएको र न्युन स्तर भएको उजुरीको आधारमा खाद्यले अनुमगन गरेको थियो । मैदाको नमुना परीक्षणको लागि ल्याबमा पठाउदा तोकिएको गुणस्तको मापदण्ड नपुगेको रिपोर्ट आएपछि मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीले जनाएको छ । 

यस्तै, पिउने पानी उत्पादन गर्ने इटहरीको हिमधारा कम्पनी प्रालिविरुद्ध असोज १४ गते २ वटा मुद्दा दायर भएको छ । यो कम्पनीले उत्पादन गरेको उपहार ब्राण्डको पिउने पानीको बोतल भित्रै कालो पदार्थ भेटिएको थियो । यस्तै, अर्को बोतलमा काठको टुक्रा भेटिएको थियो । नमुना परीक्षणबाट दषित खाद्य पदार्थको रिपोर्ट पनि आएपछि कार्यालयले असोज १४ गते हिमधाराविरुद्ध मुद्दा दायर गरेको थियो ।

यसैगरि, पानीको बोतलभित्र किरा भेटिएपछि इटहरी तरहरास्थित दिव्येश्वरी जल उद्योगविरुद्ध पनि खाद्यले मुद्दा दायर गरेको छ । बल्ल ब्राण्डको पानीको बोतलभित्र किरा भेटिएको र उक्त पानीको नमुना ल्याबमा परीक्षण गर्दा कोलिफर्म रहेको पुष्टि भएपछि असोज २३ गते मुद्दा दायर गरिएको खाद्य निरीक्षक एवं सुचना अधिकारी चेम्जोङले जानकारी दिइन् । ‘बोतलको पानीमा किरा भेटिएको उजुरी आएपछि नमुना ल्याब परीक्षण गर्न पठायौं, कोलिफर्म भेटिएको रिपोर्ट आयो । त्यसैले दुषित खाद्य पदार्थ उत्पादनमा मुद्दा दायर गरेका छौं,’उनले भनिन् ।

नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी एसिड भेल्यु बनस्पति घिउमा मिसाएको पाइएपछि सुनसरीको सोनापुरस्थित पशुपति खाद्य उद्योगविरुद्ध पनि खाद्यले मुद्दा दायर गरेको छ । उक्त उद्योगविरुद्ध न्युस्तरको खाद्य पदार्थ उत्पादन, बिक्रीवितरण गरेको अभियोगमा खाद्य कार्यालयले असोज १७ गते जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको हो । नेपाल सरकारले बनस्पति घिउमा ०.५ मिलिग्राम भन्दा बढी एसिड भ्यालु हुनु नहुने मापदण्ड तोकेको छ । तर, यो उद्योगको घिउमा भने तोकेको मापदण्ड भन्दा बढी एसिड भ्यालु पाइएको खाद्य निरीक्षक चेम्जोङले बताइन् ।

मुद्दा दायर भएका पाँच उद्योगहरुलाई खाद्य ऐन २०२३ को दफा ३ वमोजिम कसुरमा दफा ५(१) वमोजिम ५ बर्षसम्म वा पचास हजारसम्म जरिवाना वा दुवै सजायको माग दाबी गरेर मुद्दा दायर गरिएको पनि चेम्जोङले जानकारी दिइन् । ‘न्युस्तर र दुषितस्तरको खाद्य पदार्थ उत्पादन, बिक्रीबितरण, निकासी वा पैठारी गर्न कानुनले रोक लगाएको छ । त्यस विपरीत कसुर गरेमा ५ बर्ष जेल वा ५० हजार जरिवाना वा दुवैको सजाय हुने व्यवस्था अनुरुप नै माग दाबी गरेर मुद्दा दायर गरिएको छ,’उनले भनिन् ।