धरान: ढिलो गरि नगरसभाको मिति तोकेर बजेट ल्याउने तयारीमा जुटेको धरान उपमहानगरपालिकाको आज बसेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र करको दर, दायरा पारित गर्न सकेन ।
तोकिएको समयभन्दा एक घण्टा ढिलो गरि आइतबार दिउँसो करिब ३ बजे बसेको बैठकमा आगामी नगरसभामा पेश गर्ने नीति तथा कार्यक्रममा सहमति जुट्न सकेन । यसअघि एमालेका जनप्रतिनिधिहरुको माग वमोजिम नीति तथा कार्यक्रम संशोधन भएर नआएको भन्दै आपत्ति जनाएका थिए ।
अर्को कार्यपालिका बैठक भदौ २५ गते बिहान बस्ने र सोही बैठकमा सुझावसहितको फाइनल प्रिन्ट गरेर नीति तथा कार्यक्रम पास गर्ने निर्णय भएको छ ।
करको एजेण्डा पनि अर्को बैठकमा पास गर्ने
करको बिषयमा पनि आजको कार्यपालिका बैठकमा सहमत जुट्न सकेन । राजश्व परामर्श समिति र स्रोत अनुमान तथा सिमा निर्धारण समितिको बैठकबातट पारित आर्थिक बर्ष २०८२/८३ को प्रस्ताव गरिएको राजश्वका दर, दायरा, नीति तथा कार्यक्रममा सहमति जुट्न सकेन ।
बैठकमा कर सम्बन्धी संशोधनको लागि एमालेका कार्यपालिका सदस्य अनुप देवानले पुनः पाँच बुँदे प्रस्ताव पेश गरे । उक्त प्रस्तावलाई पनि सम्बोधन गर्दै आगामी बैठकमा दररेट पास गरेर अघि बढ्ने निर्णय बैठकले गरेको छ । कर वृद्धिको प्रस्तावको दरमा वडा नं ९ का अध्यक्ष रुपेश आचार्य, वडा १९ का अध्यक्ष पुर्ण लिम्बुले पनि असहमति जनाउदै जनतालाई कर वृद्धि नगरि राहत दिनुपर्ने बताएका थिए।
के छ करको दर संशोधनमा ?
कार्यपालिकामा पेश भएको मालपोतको दर संशोधन सम्बन्धमा वडा नं ५ को पहाडी क्षेत्रबाहेक समतल क्षेत्रको लागि ६ रुपैया ५० पैसा कायम गर्न प्रस्ताव गरिएको छ । उक्त वडामा गत बर्षमा ५ रुपैया दर रहेकोमा यो बर्षको लागि ७ रुपैया ५० पैसा प्रस्ताव गरिएको थियो। यस्तै, वडा नं ६ मा पनि ७ रुपैया ६० पैसाबाट बढाएर १० रुपैया प्रस्ताव गरिएकोमा ९ रुपैया मात्र कायम गर्न संशोधन प्रस्ताव गरिएको छ।
यस्तै, संशोधनको दोस्रो बुँदामा मातलपोतको दर साविक वडा नं २ र ३ तथा हालको वडा नं ५ र ६ बाहेक अन्य वडामा कुनै परिवर्तन गरिएको छैन भन्ने उल्लेख छ । यसैगरि, मोटरसाइकलको बार्षिक शुल्क २ सयलाई यथावत राख्ने संशोधन प्रस्ताव छ ।
यस्तै, धरानबाहिरबाट दुध प्रशोधन वा प्याकेजिङ गरि धरान ल्याई बिक्री गर्ने कम्पनीलाई बार्षिक कर २५ हजारदेखि ५० हजार लगाउन प्रस्ताव गरिएको थियो । उक्त दरलाई संशोधन गरि १५ देखि २५ हजार कायम गर्न प्रस्ताव गरिएको छ ।
यसैगरि, मोवाइल बिक्री पसलको व्यवसाय करको प्रस्तावित दर ७ हजार ५ सयलाई संशोधन गरि ६ हजार ५ सय कायम गर्ने, ट्युसन सेन्टरको बार्षिक व्यवसाय करको प्रस्तावित दर २५ हजारलाई संशोधन गरि १० हजार कायम गर्ने पनि नयाँ प्रस्ताव पेश भएको छ । यस्तै, शिक्षा क्षेत्रको दस्तुरमा कक्षा थप सञ्चालन अनुमति दस्तुरको प्रस्तावित दर १० हजार गरिएकोमा संशोधन गरि ५ हजार कायम गर्ने प्रस्ताव छ ।