धरान: सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित मदनभण्डारी लोकमार्गअन्तर्गत दुधपानी खोलाले मोटरसाइकलमा सवार दम्पत्तिलाई बगाएको छ । 

शनिबार मध्याह्न १२ बजे काठमाण्डौंबाट धनकुटातर्फ जादै गरेको बागमती प्रदेश ०२–०४७ प ७३८ न्बरको मोटरसाइकल उक्त खोलाले बगाएको थियो । मोटरसाइकलमा सर्लाही जिल्लाको हरिवन बस्ने २७ बर्षीय मनिष पाँचकोटी र पछाडि २७ बर्षीय श्रीमति सिलु खड्का सवार थिए । खोलाले मोटरसाइकलसहित दुवैलाई बगाएपनि तत्काल स्थानीय, प्रहरी, सशस्त्र प्रहरीसहितको टोलीले श्रीमतिलाई तत्काल उद्दार गरेका थिए । तर, श्रीमान् मनिष भने बगेर वेपत्ता भएका छन् । 

उक्त खोला सप्तकोशीमा मिसिने भएकोले मनिषलाई कोशीमा खोजी गरिरहे पनि अहिले यो समाचार तयार पार्दासम्म फेला पार्न नसकेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख एवं प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए । उनले भने,‘कोशीमा पानी बढेकोले र्याफ्टिङ कायकको मद्दतबाट खोजी गरिरहेका छौं, फेला परेको छैन ।’

मोटरसाइकल इलाका प्रहरी कार्यालयमा राखिएको छ भने उद्दार गरिएको श्रीमति खड्कालाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको पनि प्रहरीले जनाएको छ । यसअघि पनि सोही खोलाले मोटरसाइकलमा सवार बाबु छोरी बगाउदा छोरीको मृत्यु भएको थियो । उक्त खोला ज्यादै चिप्लो हुने भएकोले मोटरसाइकल चिप्लेर लड्ने गरेको छ ।

उक्त खोलामा बार लगाउन नगरपालिकासँग समन्वय गरेर प्राविधिकहलाई देखाए पनि समाधान हुन नसक्ने निष्कर्ष निकालिएको प्रहरी निरीक्षक कुँवरले बताए । खोलाले ठुलठुला ढुंगा बगाएर ल्याउने र फलामे बार भत्काइदिने उनले बताए । ‘यात्रुहरुले सजगता अपनाउनुनै भरपर्दो विकल्प हो, हामीले त्यहाँ बाटो चिप्लो छ भनेर होडिङ बोर्ड पनि राखेका छौं,’ उनले भने,‘कोशी पुलमा आउजाउ गर्दा नै प्रहरीले चिप्लो छ, बगाउछ भनेर सम्झाउने गरिरहेका छौं, तर वेवास्ता हुँदा दुर्घटना भइरहेको छ ।’