धरान: धरान ८ स्थित तीनकुने सुन्दर बस्ती जग्गा एकीकरण आयोजनास्थलमा निर्माण भएको नयाँ स्मार्ट बसपार्क निजी क्षेत्रलाई ठेक्कामा दिएर सञ्चालन गरिने भएको छ ।
उक्त बसपार्क सञ्चालनको मोडालिटी तयार गर्न गठित समितिको प्रतिवेदन आइतबारको कार्यपालिका बैठकले पारित गरेसँगै नयाँ स्मार्ट बसपार्क निजी क्षेत्रलाई ठेक्कामा दिएर सञ्चालन गर्ने बाटो खुलेको हो । मेयर हर्कराज राई (साम्पाङ) संयोजक रहेको उक्त समितिले तयार गरेको प्रतिवेदनमा निजी क्षेत्रमार्फत पाँच बर्षको लागि सार्वजनिक बढाबढको आधारमा ठेक्कामा दिनु उपयुक्त हुने सुझाव दिएको थियो ।
समितिले सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार सेवाशुल्को दरमा समेत पुनरावलोकन हुने गर्ने गरी तेस्रो बर्षदेखि बार्षिक १० प्रतिशतले कबुल रकम बृद्धि हुने गरि ठेक्का दिन उपयुक्त हुने प्रतिवेदनमा उल्लेख गरेको छ । उक्त प्रतिवेदन अघिल्लो कार्यपालिका बैठकमा अध्ययनको लागि वितरण भएको थियो भने आज (आइतबार) जस्ताको तस्तै पारित भएको हो ।
प्रतिवेदन पारित हुनुअघि ठेक्का दिदाको आम्दानी, सेवा शुल्कलगायतको प्रश्न उठेको थियो । त्यसबारेमा राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडाले निजी क्षेत्रलाई ठेक्कामा सञ्चालनको जिम्मा दिदा उपमहानगरपालिकालाई बसपार्कबाट बार्षिकरुपमा कम्तीमा १ करोड ४० लाख आम्दानी हुने अनुमान गरिएको बताए । बसपार्क निर्माणमा ठुलो लगानी भएकोले चुस्त दुरुस्त राखेर त्यहाँबाट राजश्व पनि प्राप्त गर्नुपर्छ भन्ने मनसायबाट प्रतिवेदन तयार गरिएको उनले बताए ।
खतिवडाका अनुसार कुल आय अनुमान २ करोड ३४ लाख हुने र खर्च खटाएर बाँकी १ करोड ४० लाख हाराहारीमा बचत हुनसक्ने अनुमान गरिएको छ । ‘त्यो न्युनतम कबोल अंक राखेर टेण्डर हुन्छ, टेण्डर अनलाइन बिडिङबाट हुन्छ । प्रतिस्पर्धाको आधारबाट १ करोड ४० लाख भन्दा माथि सबैभन्दा बढी जसले रितपुर्वक कबोल गर्छ, त्यसलाई बोलपोत्र स्वीकृत हुनेगरि टेण्डरमा जान्छ,’ उनले भने ।
खतिवडाका अनुसार ठेक्का कबोल गर्ने ठेकेदारलाई बसपार्कको मर्मतसम्भारको कार्यमा जिम्मेवार बनाउन कबोल गरेको १५ प्रतिशत रकम छुट्टै मर्मत कोषमा राख्ने व्यवस्था पनि हुनेछ । बसपार्कलाई चुस्त दुरुस्त राख्न अनुगमन समिति गठन हुने र मर्मत गर्नुपर्ने भए उक्त समिलिते ठेकेदारलाई लिखित निर्देशन दिनेछ । ठेकेदारले मर्मत नगरेमा उपमहानगरपालिकाले सोही मर्मत कोषबाट मर्मत गर्ने पनि खतिवडाले बताए । ‘ठेकेदारले गरेन भने हामीले त्यही कोषको पैसा परिचालन गरेर मर्मत गछौं, त्यो पैसा ठेकेदारकै हो,’ उनले भने, ‘बाँकी पैसा रह्यो भने उसलाई फिर्ता गर्ने भनेर १५ प्रतिशत उसकै पैसा सुरक्षाको लागि राख्ने व्यवस्था हो ।’
बसपार्कमा सरसफाई तथा सेवा शुल्क भनेर हरेक गाडीको प्रकृति अनुसार दररेट निर्धारण गरिने पनि खतिवडाले बताए । बसपार्कमा बसलगायत सार्वजनिक सवारीका साधन प्रवेश गर्दा मात्र पटकेरुपमा सेवा शुल्क तिर्नुपर्ने उनले बताए । ‘बार्षिक तिर्छु भन्ने सुविधा नगर्ने । सेवा प्रयोग गर्यो भने भुक्तानी गर्छ, गरेन भने गर्दैन,’ उनले भने,‘पार्किङ शुल्क चै टेम्पो इरिक्साहरुले तिर्नुपर्छ ।’
कार्यपालिका सदस्य सृजना नेपालले बसहरु इटहरीमा जस्तै बसपार्कभित्र प्रवेश नगरी अन्य बाटोबाट बाइपास भएर गए के गर्ने भनेर प्रश्न उठाएकी थिइन् । मेयर राईले बसपार्क सञ्चालनमा आएपछि अनिवार्यरुपमा बसहरुलाई बसपार्कमा प्रवेश गराउन र पुर्णरुपमा सञ्चालन गरेर सफल बनाउन सबै जना लागिपर्नुपर्ने बताए । ‘यातायात व्यवसायीका प्रतिनिधिहरुसँग पनि छलफल भएको छ, सुरक्षा निकाय र ट्राफिक प्रहरीसँग पनि छलफल भएको छ,’ उनले भने,‘स्मार्ट बसपार्क सञ्चालनमा ल्याउनुपर्छ । नगरकै गौरवको योजना र ठुलो सम्पत्ति त्यतिकै बाइपास भएर जान दिनुहुदैन ।’