धरान: मदन भण्डारी राजमार्गअन्तर्गत पुर्वबाट पश्चिमतर्फ जादै गरेको ट्रिपरले धरान ६ स्थित पानवारीमा सोही दिशातर्फ जादै गरेको स्कुटरलाई ठक्कर दिदा एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ भने थप तीन जना घाइते भएका छन् । 

आज (शुक्रबार) दिउँसो १ बजेको उक्त घटनामा आमा विना बुढाथोकीसँगै स्कुटरमा पछाडि सवार ११ बर्षीय छोरी सुवास्ना बुढाथोकीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएका छ । को ३९ प २७४ नम्बरको स्कुटरमा सवार आमा छोरी पनि पश्चिमतर्फ गइरहदा चौकीडाँडास्थित मोडमा पछाडिबाट को १ ख ८७४५ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । उक्त स्थानमा पश्चिमतर्फ जादै गरेको स्कुटर दाँयातर्फ मोडिदा ट्रिपरले ठक्कर दिएको स्थानीयले जानकारी दिएका छन् ।

स्कटुरमा चालक विनासँगै छोरीहरु सुवास्ना, ६ बर्षकी नुना र छिमेकीकी छोरी सुस्मिता पनि सवार थिए । ट्रिपरको ठक्करबाट विनासँगै नुना र सुस्मिता पनि घाइते भएका छन् । उनीहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इर्मजेन्सीमा उपचार भइरहेको छ । स्कुल विदा भएपछि आफ्ना २ छोरी र छिमेकीको एक छोरी स्कुटरमा लिएर विना घर फर्कदै गर्दा उक्त दुर्घटना भएको हो । 

accident2 copy

घटनाको मुख्य कारण ट्रिपरको गति तीब्र भएको स्थानीयको भनाई छ । स्कुटरले इन्डिकेटर बालेर मोडिन खोज्दा पनि ट्रिपर तीब्र गतिको कारण उक्त दुर्घटना भएको वडाअध्यक्ष भुपेन्द्र भट्टराईले जानकारी दिए । घटनापश्चात आक्रोशित स्थानीयले ट्रिपरमा आगजनीको प्रयास गरेका थिए । तर, प्रहरीले तत्काल रोकेपछि अप्रिय घटना हुन पाएन ।

ट्रिपर चालक र ट्रिपरलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । घटनापश्चात आक्रोशित स्थानीयले शव पनि उठाउन दिएका थिएनन् । वडाका जनप्रतिनिधि, प्रहरी र ट्रिपरधनी बसेर छलफल गरेपश्चात करिब ४ घण्टा पछि मात्र शव उठाइएको थियो । घटनापश्चात मदन भण्डारी राजमार्गको उक्त खण्डमा सवारी आवागमन पनि रोकिएको थियो ।