धरान: प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले पक्राउ परेका पहिचानवादी नेता, कार्यकर्ताहरुलाई प्रहरीले झुटो मुद्दा लगाएको भन्दै अनिश्चितकालिन धनकुटा बन्दको घोषणा गरेको छ । 

संघर्ष समितिले बन्दको उक्त कार्यक्रमबारे प्रदेशका सबै जिल्लामा रहेको संघर्ष समितिलाई पत्राचारसमेत गरेको जनाएको छ । आन्दोलनको क्रममा पक्राउ परेका मनकुमार याम्फू राई, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई धनकुटा जिल्ला प्रहरी कार्यालयले विगत ५ दिनदेखि हिरासतमा राखेर झुटो मुद्दा लगाएको संघर्ष समितिको भनाई छ । धनकुटाको चौबिसेमा राष्ट्रिय युवा संघको कार्यक्रममा अवरोध गर्ने क्रममा उनीहरु पक्राउ परेका थिए । 

जिल्ला प्रशासन कार्यालय धनकुटाले आज (सोमबार) छुटाउने आश्वासन दिएपनि अन्यायपूर्ण प्रहरी हिरासतमा राखिएको भन्दै संघर्ष समितिले तीन जनालाई निशर्त रिहाइ गर्न पनि माग गरेको छ । उनीहरुको रिहाई नभएसम्म चारैतिरका नाकाहरू बन्द गरी अनिश्चितकालीन धनकुटा बन्द गर्ने पनि संघर्ष समितिले घोषणा गरेको छ । समितिले बन्द कार्यक्रमलाई सफल बनाउन आआफ्नो क्षेत्रका यातायात व्यवसायीहरू र उद्योग वाणिज्य सङ्घहरूलाई सहयोगको लागि अनुरोध गर्न समेत जिल्ला संयुक्त सङ्घर्ष समितिहरूलाई अनुरोध गरेको छ ।

prdesh1