धरान: यसपाली दशैंमा बिक्रीको लागि ल्याएको खसी, बोकाले उचित मुल्य नपाएपछि किसान र व्यापारी चिन्तित छन् । 

गत वर्षको तुलनामा यसपाली खसीबोकाले उचित मुल्य पाएको छैन । धरान १३ स्थित कृषि बजारमा विक्रीका लागी ल्याइएका खसी बोकाले उचित मुल्य नपाएपछि कतिपय कृषकहरुले घर फर्काउन बाध्य भएका छन् । कोसी पहाडी जिल्लाहरुबाट गतबर्ष कै सख्यामा खसी बोका कृषि बजार भित्रिएको थियो । कृषि बजारका अनुसार गत वर्ष जिउदो खसीको मुल्य कम्तिमा प्रतिकेजी ६ सय रुपैयाँ थियो । तर, यस पटक प्रतिकेजी पाँच सय ५० रुपैयाँमा सिमित भएपछि कृषक तथा व्यापारी मारमा परेको कृषि बजारले जनाएको छ । 

राम्रो मुल्य पाउने आसले ल्याएको खसी बोकाले मुल्य नपाउँदा खरिद गरेको मुल्य भन्दा कम दाममा विक्री गर्नु परेको धनकुटाका कृषक टिकाराम राई बताउँछन् । 'हाम्रो लागत मुल्य भन्दा कम दाममा माग्छन्, घाटा खाएर कसरी दिनु ?' राईले भने, ‘पोहोर साल भान्दा यसपाली यो बजारमा २५–३० प्रतिशत घाटा खाएर खसी बोका बेच्नुपर्यो ।‘

मोरङको बेलबारीबाट खसी विक्रीका लागि आएका कृषक तथा व्यापारी गोपाल प्रसाद नेपालले आर्थिक मन्दी कै कारण बजारमा त्यती उत्साह नभएको बताए । ‘आर्थिक मन्दी छ यो मैले पनि महसुस गरेको छु,'उनले भने, ‘उपभोक्ताले सामान किन्न खोज्छ, पैसा नै छैन ।' त्यसो त गत वर्ष दशैमा २० वटा खसी विक्री गरेका व्यापारी गोविन्द भण्डारीको पीडा पनि उस्तै छ । यस पटक उनले चार वटा मात्र खसी विक्री भएको भन्दै बाँकी खसी विक्री गर्न गाह्रो भएको सुनाए । ‘गत वर्षको दशैमा मात्र मैले २० वटा बेचेको थिँए तर, यस पटक बल्ल बल्ल चार वटा बेच्र्दैछु,'भण्डारीले भने,‘खै अब यो के भन्ने मन्दी कै कारणले बजार डामाडोल छ ।'

khasi1

गत वर्ष दशैको सिजनमा कृषि बजारमा २४ करोड बराबरको कारोबार भएको थियो । गत वर्षको तुलनामा १५ देखी २० प्रतिशत बढी कारोबार हुने प्रक्षेपण गरिएपनि यस वर्ष गत वर्ष भन्दा करिब १५ प्रतिशत कारोबारमा ह्रास आएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भटराईले बताए । ‘हामीले अष्टमीको अघिल्लो दुई हप्तालाई दशैको बजार मान्ने गरेका र्छौ, गत वर्ष १२ हजार वटा खसी बोका अर्थात २४ करोड बराबरको कारोबार बिक्री भएको तथ्याङ छ,'भटराईले भने, ‘यस पटक कारोबार करिब १५ प्रतिशतले कमी हुने देखिएको छ ।‘ 

बजारले गत वर्षको कारोबारलाई हेरेर यस वर्ष १५ देखी २० प्रतिशत बढी कारोबार हुने प्रक्षेपण गरेको थियो । तर गत वर्षको कारोबार भन्दा १५ प्रतिशत कमी हुने देखिएको कृषि बजारले जनाएको छ । आर्थिक मन्दीका कारण हरेक क्षेत्रमा प्रभाव देखिएको सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए । दशैको बजारमा चहल पहल भएपनि खरिद विक्रीमा धेरै कमी आएकाले व्यापारीहरु चरम मारमा परेको श्रेष्ठको भनाई छ । ‘विश्वमा नै अहिले आर्थिक मन्दी छ । आर्थिक मन्दीको नेपालमा पनि ठुलो असर पुगेको छ,'अध्यक्षले श्रेष्ठले भने, ‘सरकारले अहिले निर्माण व्यावसायिहरुको भुक्तानी दिन सकेको छैन हामी व्यावसायीहरुले भुक्तानी नपाएपछि कहाँबाट काम गर्नेलाई तलव दिनु हो यही कारण पनि आर्थिक मन्दी छाएको हो ।'

दसैको बजारमा चहल पहल भएपनि २०–२५ प्रतिशत पनि विक्री नभएको अध्यक्ष श्रेष्ठको भनाई छ । ‘दशैको बजारमा चहल पहल त छनी तर, विक्री छैन,'उनले भने ‘२०–२५ प्रतिशत पनि विक्री छैन । धरानका धेरै उद्योगी व्यावयाीहरु पलायन हुने अवस्थामा पुगिसकेका छन् । यो समस्या कस्ले बुझीदिने ?'