धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति समर्पित हे हर्क..बोलको गीत म्युजिक भिडियोसहित रिलिज गरिएको छ ।

चर्चित गायक राजेश पायल राईले स्वर रहेको उक्त गीत आज (बिहिबार) धरान ८ बराह मलस्थित फ्रेन्ड्स सिनेमा हलमा एक कार्यक्रम आयोजना गरि रिलिज गरिएको हो । उक्त गीत सिल्भर इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट विश्वव्यापी रिलिज गरिएको हो । गीत रिलिज कार्यक्रममा मेयर साम्पाङ परिवारसहित सहभागी थिए भने उपमेयर अइन्द्रबिक्रम बेघा, नायिक रेखा लिम्बु, गीतकार मीना सिंगकसहित श्रमदाताहरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो ।

गीतको रचना राजिव हलवाईले गरेका हुन् । सिल्भर इन्टरटेन्मेन्टका निर्देशक सौरभ श्रेष्ठको परिकल्पना र आग्रहमा एकै रातमा गीत लेखेको हलवाईले बताए । मेयर साम्पाङको श्रमअभियान र विकासको कार्यबाट आफु प्रभावित भएर गीतको माध्यमबाट योगदान दिने प्रयास गरेको उनले बताए । गीतको म्युजिक भिडियोले मेयर साम्पाङ निवार्चित भएको, सपथ ग्रहण गरेको र त्यसपछि खानेपानी, वृक्षारोपणलगायत कार्यमा भएको श्रमदान अभियानको दृष्यहरुलाई कैद गरिएको छ । 

harka song

मेयर साम्पाङले गीत राम्रो बनेको प्रतिक्रिया दिदै आफु रोएको बताए । ‘किन रोए भने, हामीले गरेको कामहरुको समिक्षा जस्तो, सार जस्तो जीवन्तरुपमा प्रस्तुत गरिदिनुभयो,’मेयर साम्पाङले भावकु हुदै भने,‘मैले धेरै गीतहरु गाएको छुँ, लेखेको छुँ तर कलाकार बन्न सकिन । कलालाई मन पराउने मान्छे चै हुँ । थुप्रै फिल्म यस्तो हलमा हेरियो, आज आफ्नै फिल्म हेर्दा अर्के अनुभूति भयो ।’ श्रमदान अभियानलाई श्रमक्रान्तिकोरुपमा अघि बढाउन सकेको भन्दै मेयर साम्पाङले पौरखी श्रमदाताहरुलाई धन्यवाद पनि दिए । उनले हर्क अब आफ्नो एक्लो नाम नभएको र देश उठाउन परिश्रम गर्ने व्यक्तिको नाम भएको पनि बताए ।

उपमेयर अइन्द्रबिक्रम बेघाले पनि गीतले धरानमा के हुदैछ, र धरानको पहिचान कस्तो बनाउदैछौं भनेर भिडियोले प्रष्ट पारेको बताए । संसार श्रमले नै बनेको धारणा गर्दै उनले श्रमलाई सम्मान गर्नुपर्ने र श्रम सँस्कृतिको वास्ताविकता तथा शक्तिको उजागर धरानबाट भएको पनि बताए । गीतमा निरज श्रेष्ठले संगीत भरेका छन् भने भुपेन्द्र लिम्बु तुम्बाहाम्फे, एडम लिम्बु, फुर्वा चुक्टे शेर्पा, राजेश शाक्य (टोनीं र कमानसिंह यक्फुले दृष्यहरु खिचेका हुन् ।

भिडियो: