धरान: छिमेकी गाउँपालिका केराबारीस्थित खदम खोलाबाट श्रमदान अभियान मार्फत पिउने पानी धरान ल्याउने योजनामा मेयर हर्क साम्पाङ अघि सरेका छन् । 

खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल, ओभरसियर सुशान्त थापासहित मेयर साम्पाङ मंगलबार केराबारी गाउँपालिका पुगेर औपचारिकरुपमा सहयोगको आग्रह गरेका छन् । मेयर साम्पाङले खदम खोलाबाट पिउने पानी धरान लैजानको लागि आवश्यक सहयोग, समन्वय तथा स्वीकृतिको आग्रह गर्दै गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङलाई पत्रसमेत हस्तान्तरण गरेका थिए ।

मेयर साम्पाङले धरानको सबै खोलाहरुबाट पानी संकलन गरिसकेको जानकारी दिदै खदम खोलाबाट पनि पानी लैजाने स्वीकृति भए वृहत श्रमदान अभियान गर्ने बताए । उनले कोकाह खोलाको पानी ४२ किलोमिटर दुरीबाट श्रमदानमार्फत नै ल्याएको स्मरण गराउदै आवश्यक समन्वय, सहकार्य र सहयोगको अपेक्षा रहेको पनि बताए । 

कार्यपालिका बैठकमा प्रस्ताव लैजान्छुँ: अध्यक्ष

kerabari2

गाउँपालिका अध्यक्ष मिरिङचिङले केराबारीलाई पनि पानीको समस्या रहेको तर मानवीयताको हिसाबले धरानलाई पानी दिन आफु सकरात्मक रहेको बताए । धरानको पत्रसहित प्रस्ताव कार्यपालिका बैठकमा पेश गर्ने र त्यहाँबाट हुने निर्णय अनुसार नै अघि बढ्ने अध्यक्ष मिरिङचिङले बताए । उनले भने,‘अन्य प्रयोजनको लागि थियो भने म पक्कै हुन्न भन्नेथिएँ तर पिउनको लागि भनेपछि मानवीयताको पक्ष पनि छ । कार्यपालिका बैठकमा प्रस्ताव लैजान्छुँ । त्यहाँ वृहत छलफल गछौं, र जे निर्णय हुन्छ, म जानकारी गराउनेछुँ ।’

गाउँपालिका अध्यक्ष मिरिङचिङले केराबारीको खानेपानीको लागि ठुलो आयोजनाको डिपिआर तयार भएर जग्गा अधिग्रहणसमेत भइसकेको जानकारी दिए । उक्त योजना ८० करोड बढीको रहेको पनि उनले बताए । अध्यक्ष मिरिङचिङले मेयर साम्पाङको श्रमदान अभियानबाट प्रभावित भएर काम गरिरहेको पनि बताए । साथै उनले धरान वडा ४ र केराबारी ५ जोड्न सेहरा खोलामा दुवै पालिकाले साझेदारीमा पक्की पुल बनाउन पनि मेयर साम्पाङसँग आग्रह गरेका थिए । हाल उक्त ठाउँमा झोलुङ्गे पुल रहेको र केराबारीका जनता हरेक हिसाबले धरानमा निर्भर भएकोले पनि साझेदारीमा पुल बनाउन अध्यक्ष मिरिङचिङले आग्रह गरेका थिए । यस्तै उनले केराबारी र धरानको सिमाना चोक्टीमा मौलिक परम्परा झल्कने गरि दुवै पालिकाले साझेदारी गरेर स्वागत गेट बनाउन पनि मेयर साम्पाङलाई आग्रह गरेका थिए । 

kerabari1

गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरले मदन भण्डारी राजमार्गले केराबारी धरानसँग झनै नजिकिएको बताउदै अन्तरपालिका साझेदारी नीति बनाएर दुवै पालिकाबीच सहकार्य गर्नुपर्ने बताइन् । उनले पनि अर्को छिमेकी नगर सुन्दरहरैचासँग साझेदारीमा विकासको काम गरिरहेको उल्लेख गर्दै धरान ४ र केराबारी ५ लाई जोड्न सेहरामा पुल बनाउन आवश्यक भएको बताइन् । ‘धरानको आग्रहलाई हामी कार्यपालिकामा छलफल गर्नेछौं । हामीले अन्तरपालिका साझेदारी नीतिमा बजेट, कार्यक्रम बनाएर सहकार्य गर्नुपर्ने आवश्यकता छ, सेहरा खोलामा मिलेर पुल बनाउन जरुरी छ,’उपाध्यक्ष मगरले भनिन् ।

भिडियो:

भिडियो: