धरान: श्रमदानबाट जनताले बनाएको एसएनएस पार्क उद्घाटन गरिएको छ । 

स्वतन्त्र नागरिक समाजले निर्माण गरेको पार्क आइतबार मेयर हर्क साम्पाङले उद्घाटन गरेका थिए । यो पार्क नगरको बजेट विना दाताहरुको सहयोग र श्रमदानबाट निर्माण भएको हो । मेयर साम्पाङले श्रम सँस्कृति पार्क काम गर्न सिकाउने पार्क भएको बताए । उक्त पार्क भित्र एसडिएस रक गार्डेन, आरा धरान, एसएनएस, वीपी पार्क पनि भएको र त्यहाँ काम गर्ने पार्क भएको उनले बताए । ‘श्रम सँस्कृति पार्क ढुंगा मात्र छ भन्ने होइन, त्यहाँ काम गर्न आउने हो, काम सिक्ने थलो हो,’उनले भने । 

उपमेयर अइन्द्रबिक्रम बेघाले समाज र देश श्रम र सामुहिकताबाट बनाउने हो भन्ने ज्युँउदो उदाहरण एसएनएस पार्क रहेको बताए । सामुहिकरुपमा श्रम र लगानी गरेर निर्माण भएको भन्दै उनले भने,‘श्रम अभियान र सामुहिकताको अभियानले विकास निर्माण, पुर्वाधार निर्माण कसरी हुन्छ भन्ने धरानले देखाएको हो ।’

sns1

उद्घाटन भएसँगै पार्क उपमहानगरपालिकालाई हस्तान्तरण पनि गरिएको श्रमदानको नेतृत्व गरेका रामप्रसाद राईले बताए । यो पार्क जनताले बनाएर स्थानीय सरकारलाई उपहार दिइएको पनि उनले बताए । ‘जनताले सरकारसँग खोज्ने मात्र होइन, दिने पनि हो भन्ने एउटा उदाहरण यो पार्क हो,’उनले भने,‘देशविदेशबाट आर्थिक सहयोग र श्रमदानबाट बनाएर दिएका छौं । माथिल्लो क्षेत्रमा काम बाँकी नै छ, अझै संरचना थपिन्छ ।’

एसएनएस पार्क निर्माण भएको ठाउँमा विगतमा अव्यवस्थित खाजा पसलका टहराहरु थिए । मेयर साम्पाङ निवार्चित भएपछि गत बर्ष उक्त पसलहरुलाई वेलकम ट्रस बनाएर स्थानान्तरण गरिएको थियो । टहराहरु हटेपछि खाली भएको क्षेत्रमा स्वतन्त्र नागरिक समाज (एसएनएस)ले पार्क बनाएको हो । पार्कलाई ज्येष्ठ नागरिकहरुलाई भेटाघाट गर्ने स्थान (चौतारी) को अवधारणामा निर्माण गरिएको पनि श्रमदानका नेतृत्वकर्ता राईले बताए । 

sns2

श्रम सँस्कृति पार्क क्षेत्रमा आरा धरान बनेपछि दैनिक सयौंको संख्यामा पर्यटकहरु आउन थालेको र वृद्धवृद्धाहरुलाई बस्न असहज भएपछि चौतारीको अवधारणा बनेर एसएनएस पार्क बनाइएको उनले बताए । पार्क निर्माणमा ७० दिनसम्म निरन्तर श्रमदान भएको र ११ लाख २० ८९८ रुपैया खर्च भएको पनि उनले बताए । कार्यक्रममा निरन्तर श्रमदानमा आउने श्रमदाताहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो भने गन्धर्व कलाकारहरुले मनोरञ्जन पनि दिलाएका थिए । यस्तै, धरान १२ की गंगा लिम्बुले श्रमदाताहरुलाई ढाका टोपी र चाँदीको सिलाम साक्माले सम्मान गरेका थिए ।

भिडियो:

भिडियो:

भिडियो: