धरान: लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत बुधबार धरानमा एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) बारे जानकारीमुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

अखिल नेपाल महिला संघ सुनसरी क्षेत्र नं १ कमिटीको आयोजनामा सुनसरी उद्योग वाणिज्य संघको हलमा उक्त कार्यक्रम भएको थियो । लैंगिक हिंसा पीडित बालबालिका, महिला तथा ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य उपचार, कानुनी उपचार, मनोपरामर्श सेवा र पुर्नस्थापनासमेतको एकद्धार प्रणालीबाट सेवा दिलाउन सरकारले ओसिएमसी कार्यक्रम लागु गरेको छ । उक्त कार्यक्रम धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालनमा रहेको र सोही कार्यक्रमबारे जानकारीसमेत दिने उद्देश्यले अन्र्तक्रिया गरिएको आयोजक कमिटी अध्यक्ष सविता राईले जानकारी दिइन् । 

उक्त अन्तरक्रियामा ओसिएमसी कार्यक्रमका प्रमुख तथा वीपी प्रतिष्ठानका फरेन्सिक विभागका डाक्टर विकास साहले विस्तृतरुपमा सहभागीहरुलाई जानकारी गराएका थिए । उनले उक्त कार्यक्रम विगत ४ बर्षदेखि प्रतिष्ठानमा रहेको बताउदै हालसम्म सेवाग्राहीहरुको तथ्यांकसमेत प्रस्तुत गरेका थिए । डा.साहका अनुसार जर्बजस्ती करणी, हाडनाता करणी, घरेलु हिंसा तथा कुटपिट, बोक्सीको आरोपमा यातना तथा कुटपिटको घटनाबाट पीडितहरु आएका थिए । उनीहरु बढीमात्रामा महिला र बालिकाहरु भएको पनि डा.साहले बताए । 

‘ओसिएमसी कार्यक्रमको सेवा लिनको लागि प्रहरीमार्फत धेरै आइरहेको छ, तर सिधै अस्पतालमा आएर पनि यो सेवा प्राप्त गर्नसक्नुहुन्छ,’डा.साहले भने,‘ओसिएमसीबारे अझै पनि धेरैलाई जानकारी छैन । तपाईहरुले वडा वडामा यो कार्यक्रमबारे जानकारी दिनुभयो भने हिंसा पीडितहरुले तुरुन्त निःशुल्करुपमा प्याकेजमै यो सेवा पाउनुहुनेछ ।’

कार्यक्रमकी प्रमुख अतिथि तथा अनेम संघकी केन्द्रीय सदस्य शुशिला पहाडीले १६ दिने अभियानबारे जानकारी गराएकी थिइन् । धरानकी पुर्वउपमेयर एवं एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीले आफ्नो अनुभवसहित स्थानीय सरकारले बजेट बनाउदा लैंगिक मैत्री बनाउनुपर्ने बताएकी थिइन् । कार्यक्रममा पुर्व संघीय सांसद जयकुमार राई, एमाले नगर अध्यक्ष हर्कजंग एभेङले पनि मन्तव्य राखेका थिए । 

ocmc1 1