धरान: एयरपोर्ट सम्भाव्यताबारे स्थलगत अध्ययन गर्न आएको नागरिक उड्यान प्राधिकरणको टोलीले धरानमा ७२ सिटे विमानलाई हुने गरि थप अध्ययन गरेको छ। 

नेपालमा ट्विनटर र एटिआर ४२ सिटे विमान न्युन संख्यामा मात्र भएकोले अब ७२ सिटे विमानलाई लक्षित गरेर मात्र एयरपोर्ट बनाउनुपर्ने सर्वे टोलीको भनाई छ । मेयर हर्क साम्पाङले पनि सर्वे टोलीलाई ७२ सिटे विमानलाई हुने गरि नै थप सर्वे गर्न आग्रह गरेका थिए । सर्वे टोलीले बुधबार धरान १७ स्थित डाँडाघोपामा स्थलगत अध्ययन गरेर फर्किसकेको छ ।

अध्ययन टोलीका संयोजक एवं नागरिक उड्यान प्राधिकरणका ईञ्जिनियरसमेत रहेका प्रबन्धक नलबिक्रम थापाले ७२ सिटे विमानको लागि थप सर्वे गरिएको बताए । उनले भने,‘अब नेपालका एयरपोर्टहरु बनाउनुनै पर्ने भए ७२ सिटे विमानलाई हुने गरि बनाएमात्र उपयोगी हुन्छ । धरानमा त्यसको लागि पनि सर्वे गरेका छौं ।’ फिल्ड सर्वेको काम भइसकेको र अब टेवल वर्क गर्नुपर्ने पनि उनले बताए । 

विगतमा पनि धरानको एयरपोर्टको लागि २ पटक सर्वे भएको थियो । पहिलो पटकको सर्वे हुँदा १७/१८ सिटे ट्विनटर विमानको लागि आवश्यक पर्ने ९ सय मिटर रन वेसहितको सर्वे भएको थियो भने दोस्रो पटक हुँदा एटिआर ४२ सिटे विमानलाई उपयोगी हुने गरि १२५० मिटर रनवेसहितलाई सर्वे भएको थियो । उक्त सर्वे पश्चात प्राधिकरणले २०७४ असार १ गते धरान उपमहानगरपालिकालाई विस्तृत अध्ययन प्रतिवेदन पठाउदै ९३.२५ विघा जग्गा निःशुल्क उपलब्ध गराउन आग्रह गरेको थियो । 

कानुनी अड्चनसँगै जग्गा प्राप्ती मुख्य चुनौती

धरानमा एयरपोर्ट निर्माणको लागि कानुनी अड्चनसँगै जग्गा प्राप्ती मुख्य चुनौती देखिएको छ । नेपालको हवाई नीति अनुसार तराईमा ४० नर्टिकल माइल भित्र एउटा एयरपोर्टदेखि अर्को एयरपोर्ट बनाउन मिल्दैन । यो प्रावधानले गर्दा विराटनगर एयरपोर्टबाट नजिक धरानमा बन्न बाधा छ । तर अध्ययन टोलीका संयोजक थापाले मन्त्रीपरिषदबाट निर्णय गरेर यो नीति संशोधन भए धरानमा एयरपोर्ट बन्ने कानुनी बाटो खुल्ने बताए । 

airport survey2

योबाहेक धरानमा एयरपोर्ट बन्नको लागि अर्को मुख्य चुनौती भनेको जग्गा प्राप्ती हो । यसअघिको अध्ययन अनुसार ४२ सिटे विमानको लागि ९३.२५ बिघा जग्गा आवश्यक हुने देखिएको थियो । अब ७२ सिटे विमानको लागि थप जग्गा आवश्यक हुने संयोजक थापाले बताए । एयरपोर्ट निर्माणको लागि प्रस्तावित डाँडाघोपामा निजी जग्गा धेरै छ ।

यसअघि ९३.२५ बिघा जग्गा जग्गा आवश्यक पर्ने अध्ययनबाट देखिदा मुआब्जाकै लागि २ अर्ब २९ करोड भन्दा बढी रकम खर्च हुने उल्लेख थियो । अब ७२ सिटे विमानको लागि थप जग्गा आवश्यक पर्दा बढी नै खर्च हुने देखिन्छ । यति धेरै जग्गा प्राप्त गर्न बजेट कसरी व्यवस्थापन गर्ने भन्ने मुख्य चुनौती हो ।

एयरपोर्टको लागि भनेर यति इन्कर्पोरेटेड प्रालिले पनि करिब ७ विघा जग्गा खरिद गरेको थियो । नेपालमा निजी क्षेत्रलाई एयरपोर्ट बनाउन दिने व्यवस्था पनि छैन । त्यसैले सरकारले नै एयरपोर्ट बनाउनुपर्ने हुन्छ । यतिबाट उक्त जग्गा सरकारको नाममा ल्याउनुपर्ने हुन्छ । 

जनताकै लागनीमा एयरपोर्ट बनाउन सकिन्छ: मेयर साम्पाङ

airport survey3

मेयर हर्क साम्पाङले भने जग्गा प्राप्तीमा समस्या नहुने भन्दै एयरपोर्ट बनाउन सबै लाग्नुपर्ने बताए । उनले ७२ सिटे विमानकै लागि एयपोर्ट बनाउने र स्थानीयबासीलाई उचित व्यवस्थापन गर्ने पनि बताए । उनले यतिको जग्गा सरकारले खरिद गर्नुपर्ने पनि बताए । 

फिल्ड सर्वे पछि कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै मेयर साम्पाङले जनतासँग लगानी जुटाएर र श्रमदान गरेरै भएपनि एयरपोर्ट बनाउनुपर्ने धारणा राखे । बराह सहकारीमा १४ अर्ब बढी धराने जनताको रकम डुबेको प्रसंग खुलाउदै उनले धरानमा एयरपोर्ट बनाउन जनताले नै लगानी गर्ने पनि बताए । विगत २० बर्षदेखि गाँठो परेर बसेको एयरपोर्ट प्रकरण अब आफ्नो कार्यकालमा समाधान हुने पनि उनको दाबी थियो । उनले भने, 'बराहमा १४ अर्ब पैसा डुबेको छ, जनतासँग यति धेरै पैसा छ । एयरपोर्टमा पनि जनताकै लगानी गरेर बनाउनुपर्छ ।' 

भिडियो:


भिडियो:


भिडियो: