विराटनगर: जंगली हात्तीले मोरङमा पुर्याएको क्षतिबारे बुझ्न कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की प्रभावित क्षेत्र पुगेका छन् । 

प्रभावित क्षेत्र निरीक्षणको क्रममा मुख्यमन्त्रीले स्थानीयसँग छलफलसमेत गरेका छन् । शुक्रबार मुख्यमन्त्री कार्की बेलबारी नगरपालिका वडा नं १० भाउन्ने क्षेत्र पुगेर हात्तीको आक्रमणबाट भएको घर र बालीको निरीक्षण गरेका छन् । उनले हात्तीबाट हुने गरेको क्षति घटाउन हात्तीकरिडोर निर्माणदेखि जंगलमै जनावर रोक्न उनीहरुको खाद्यान्न आपूर्ति हुने बोट बिरुवा लगाउने सरकारको तयारी भएको बताए ।

पछिल्लो समय मोरङको उत्तरी भेगमा समूहमा आएका जंगली हात्तीले स्थानीयको बालीनाली खाइदिने, घरबासमा क्षति गर्ने र भौतिक आक्रमणसमेत गरिरहेका छन् । विहीबार राती स्थानीय सविन निरौला र तीर्थ दाहालको घरमा हात्तीले क्षतिले पु¥याएको थियो । झापा, मोरङ र सुनसरी विभिन्न स्थानमा यतिबेला जङ्गली हात्ती बस्ती पसेर जनमाल क्षति गरिरहेका छन् ।

पछिल्लो १५ दिनयता हात्तीको आक्रमणबाट झापामा दुई, सुनसरी र मोरङमा एक एक गरी चार जना सर्वसाधरणले ज्यान गुमाइसकेका छन् । बेलबारीको भाउन्नेमा १० बिगाहा भन्दा धेरै क्षेत्रमा लगाइएको मकै, केरालगायत बाली नष्ट गरेको वडाध्यक्ष अध्यक्ष गंगाबहादुर याख्खाले बताए ।