धरान : एम्स कलेज धरान १२ मा अध्ययनरत विद्यार्थीलाई शिक्षकले निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ ।

सामाजिक संजालमा उक्त भिडियो सार्वजनिक भएपछि सर्वत्र निन्दा भैरहेको छ । कुटपिटमा संलग्न शिक्षकलाई कडा कानुनी कारबाहीको माग भैरहेको छ । एक जना विद्यार्थीलाई २ जनाले निर्घात कुटपिट गरेको भिडियोमा देखिन्छ । धरान १७ का पीडित विद्यार्थी कलेजमा कक्षा ११ मा अध्ययनरत छन् ।

घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश उपसभापति एबम सामाजिक अभियन्ता सरिन तामाङले पीडितका बुवासङ्ग फेसबुक लाइभमा कुराकानी गरेका थिए । ती अभिभावकले आफ्नो छोरा मात्रै नभै अरु धेरै विद्यार्थीहरु पीडित भएको पनि बताए । उनले आफ्नो छोरालाई शिक्षक विदुर महत र बुद्रोस लिम्बुले आक्रमण गरेको पनि जानकारी दिएका छन् ।  शिक्षकहरु नेकपा माओवादी केन्द्रआवद्द भएकोले राजनीतिक पहुँचले आफुलाई गाह्रो भएको पनि उनले बताए ।

साथै पीडितका बुवाले आफुले ४ लाख क्षतिपूर्ति मागेको तर २ लाख ५० हजार मात्रै दिने कुरा गरेको बताए ।क्षतिपूर्ति दिने छलफल गरेर घर आईपुग्दा विद्यार्थीहरु आइराखेको र उनीहरू पनि पीडित भएको सुनाए पछि आफुले ४ लाख क्षतिपूर्ति मागेर गलत गरेको महशुस गरेको पनि पीडितका बुवाले बताए । सोही कलेजबाट पास आउट भएकि पीडितकि दिदीले पनि ती शिक्षकहरुले पहिल्यैदेखी यातना दिने गरेको बताइन् । उनले ती शिक्षकहरुलाई कडा कारबाही हुनुपर्ने माग गरिन् ।