धरान: सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष केशव गौतम धरानको एक होटलबाट आपत्तिजनक अवस्थामा परस्त्रीसँग पक्राउ परेका छन् । 

ईलाका प्रहरी कार्यालय धरानको टोलीले वडाअध्यक्ष गौतम र एक महिलालाई धरान १२ स्थित शुभकामना होटलको कोठाबाट पक्राउ गरेको हो । गौतमसँगै भेटिएकी महिलाका परिवारले खबर गरेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको थियो । एमाले जिल्ला नेतासमेत रहेका गौतम वडाअध्यक्षमा दोस्रो कार्यकाल निर्वाचित भएका हुन् । 

वडाअध्यक्ष गौतमसँग नजिकिएकी ती महिलाका परिवारले केही समयदेखि गतिविधि नियालीरहेका थिए । शनिबार दुवै धरानको होटलमा बसेको सुइको पाएपछि दुवै प्रहरी फन्दामा परेका हुन् । प्रहरी पुग्दा होटलमा आपत्तिजनक अवस्थामा भेटिएको बताइएको छ । प्रहरी स्रोतले घटनाबारे पुष्टि गरेको छ भने थप जानकारी लिन सम्पर्क गर्दा डिएसपी नवराज मल्लको फोन रिसिभ भएन ।