धरान: लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्र्तगत महिला संजाल धरानले सामुदायिक विद्यालय र सरकारी क्याम्पसका छात्राहरुबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेकोछ । 

लैङ्गिक हिंसा अन्त्यका लागि युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा पब्लिक मावि धरान १२ की कञ्चन खतिवडा प्रथम भइन् । यस्तै, शारदा बालिका नमुना माविका अनुषाका राई दोस्रो र पूर्वाञ्चल ईन्जिनियरिङ क्याम्पसकी युनिका गौतम तेस्रो भइन् भने प्रतियोगितामा सरस्वती मावि पानवारीकी विपना मग्राती सान्त्वना भएको महिला संजालकी सचिव ईन्द्रकला राईले जानकारी दिइन् । 

प्रतियोगितामा प्रथम भएकी कञ्चनले नगद ७ हजार, दोस्रो भएकी अनुषाले ५ हजार तेस्रो भएकी युनिकाले ३ हजार र सान्त्वना विजेता विपनाले नगद २ हजार र प्रमाणपत्र पुरस्कार पाइन् । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले पुरस्कार प्रदान गरेका थिए । 

प्रतियोगितामा विभिन्न विद्यालयका १५ जना छात्राहरुको सहभगिता रहेको थियो । प्रतियोगिताका निर्णायकको रुपमा महेन्द्र क्याम्पसका उपप्रध्यापक डा. अस्मिता विष्ट, महिला संजालका सल्लाहकार सुनिल नेपाल र ब्लाष्ट टाइम्सका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ रहेका थिए । 

sanjal

प्रमुख अतिथि एवं उपमेयर वेघाले मन्तव्यको क्रममा लैङ्गिक विभेद महिला मात्रामा नभई पुरुषहरुमा पनि रहेको बताए । नेपालको संविधानले महिलाहरुलाई अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै उनले महिलाहरु प्रमुख पदमा बस्नसक्ने अधिकार रहेको बताए । नेपालको ईतिहासमा सभामुखमा महिला, राष्ट्रिपतिमा महिला र प्रधानन्याधिशमा पनि महिला एकै पटक भएको स्मरण गर्दे उनले भने,‘अब पनि महिलाहरु प्रमुख पदमा बस्न सक्ने अधिकार संविधानले नै दिएको छ ।’

महिलालाई समान अधिकारको लागि धेरै कानुनहरु निमार्ण भएको तर केही व्यक्तिले गलत प्रयोग गरेर पुरुषहरुलाई प्रताडित गरेको पनि घटनाहरु देख्न र सुन्न पाइरहेको पनि उनको भनाई थियो । यस्ता घटनाहरु कम गर्न महिलाहरु पनि सचेत हुन आवश्यक रहेको उपमेयर बेघाको भनाई थियो । 

अतिथिकारुपमा नेकपा एमालेका अध्यक्ष हर्कजङ्ग एभेङ्गले पितृसत्तात्मक समाजको विरुद्धमा योगमाया न्यौपाने लगायत धेरै महिलाहरुले वलिदान दिएको परिणाम नै अहिले संविधानमै महिलालाई समान अधिकार दिइएको बताए । कार्यक्रममा नेपाली काँग्रेसका सभापति श्याम पोख्रेल, जसपाका अध्यक्ष ताजुव लिम्बु र नेपाल रेडक्रस सोसाईटीका सभापति उमेश थापा, महिला संजालका पुर्व अध्यक्षहरुको पनि उपस्थित रहेको थियो । महिला संजालका अध्यक्ष सपना राईले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समय मात्र नभै ३६५ दिन नै सञ्जालले हिंसाको विरुद्ध सक्रियतापुर्वक लागिरहेको बताइन् । 

भिडियो: