धरान: अंग्रेजी नयाँ बर्षमा भारतीय पर्यटकहरुलाई लक्षित गरेर भेडेटारमा तीन दिने फुड फेस्टिवल हुने भएको छ । 

होटल एशोसिएशन भेडेटारले शनिबार पत्रकार सम्मेलन गरेर पुष १५ देखि १७ गतेसम्म फुड फेस्टिवल आयोजना गर्ने जानकारी दिएको हो । एशोसिएशनका अध्यक्ष तुमराज लिम्बुले फेस्टिवलमा १ करोड बराबरको कारोबार गर्ने र २० देखि ३० हजार पर्यटकहरु भित्र्याउने लक्ष्य राखिएको पनि बताए । उनका अनुसार फेस्टिवलमा स्थानीय जातीय खानेकुराहरुको प्रर्दशनी पनि हुनेछ भने स्थानीय अर्गानिक तरकारी र फलफुलको प्रर्दशनी पनि हुनेछ । 

यसैगरि, मौलिक परम्परागत साँस्कृतिक झाँकी प्रर्दशनी, हस्तकला कृषि तथा घरेलु उत्पादनको पनि प्रर्दशनी फुड फेस्टिवलमा हुनेछ । साथै, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँस्कृतिक कार्यक्रम, माउण्टेन बाइक, प्याराग्लाइडिङको पनि मज्जा लिन पाइनेछ । 

bhedetar1

भेडेटारमा २०६८ सालदेखि फुड फेस्टिवल आयोजना गर्न थालिएको हो । शुरुवाती समयमा भारतीय पर्यटकहरु नगन्य संख्यामा आउने गरेको तर हिजोआज फेस्टिवलको बेला भेडेटारमा भारतीय पर्यटकहरुको उल्लेख्य आगमन हुन थालेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष एवं एशोसिएशनका निवर्तमान अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । उनले फेस्टिवलको कारण भारतीय पर्यटकहरुको एक रात भएपनि भेडेटारमा बस्ने वातावरण बनेको पनि बताए । उनले आफु गाउँपालिका अध्यक्षमा निवार्चित भएपछि पर्यटन विकासमा जोड दिएको खुलाउदै खुवालुङदेखि भेडेटारसम्मको पदमार्गको अध्ययन भइरहेको पनि बताए । 

तीन दिने फेस्टिवल अवधिमा पर्यटकहरुलाई प्याकेजमा आसपासका पर्यटकीय गन्तव्यहरुमा घुमाउन सकिने पनि आयोजकको भनाई छ । भेडेटार तथा आसपासको क्षेत्रमा शैलुङ डाँडा, पाथीभारा देवीको मन्दिर, शंखेश्वर मन्दिर, भेडेटार पार्क, थुम्कीस्थित आत्माघर, नमस्ते झरना, ओख्रे भ्यु टावर, ध्वजे डाँडा, जिपलाइनलगायत आकर्षण तथा गतिविधिहरुमा घुमाउन सकिने सचिव लालबहादुर श्रेष्ठले बताए ।