धरान: प्राध्यापक तारा बहादुर निरौला दम्पतीले धरान ११, स्वास्तिका चोकस्थित लक्ष्मी नारायण मन्दिरलाई अक्षय कोषमा सहयोग गरेका छन् । 

विरेन्द्र मेमोरियल कलेज धरानका प्रिन्सिपल तथा महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व प्राध्यापक निरौला र उनकी धर्मपत्नी मन्जु निरौलाले मन्दिरको अक्षय कोषमा नगद २० हजार सहयोग गरेका हुन् । निरौला दम्पतीले पितृ मोक्षका लागि केही दिन अघि सप्ताह पुराण लगाएको र पितृका नाममा मन्दिरमा सहयोग गरेको बताएका छन् ।

मन्दिर संचालनका लागि १५ लाख बराबरको अक्षयकोष निर्माण गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष आनन्द आचार्यले जानकारी दिए । मन्दिरको अक्षयकोष जस्तो पुन्य कार्यमा आफूले सक्ने सहयोग गर्न पाएकोमा खुशी लागेको प्राध्यापक निरौलाको भनाई छ । थोरै भएपनि सहयोग गर्न सकेकोमा आफुलाई सन्तुष्टी मिलेको उनको भनाई छ । 

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले सहयोगी निरौला दम्पतीलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्तै सहयोग अपेक्षा समेत रहेको बताए । निरौला दम्पतीले यसअघि धरान–१४ स्थित पण्डित पुरुषोत्तम भट्टराइले स्थापना गरेको संस्कृत बिद्यालय बिजयपुरको छात्रबास निर्माणको लागि पनि ५० हजार रुपैया सहयोग गरिसकेका छन् ।