धरान: खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी सचेतना जगाउने उद्देश्यले शुक्रबार धरानमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजना तथा सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा एक दिने उक्त अन्तरक्रिया कार्यक्रम भएको हो । धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघको हलमा भएको कार्यक्रममा व्यवसायी तथा विभिन्न मार्ट तथा डिपार्टमेन्ट स्टोर सञ्चालकहरु सहभागी थिए । माट तथा डिपार्टमेन्ट स्टोरमा लेबल सम्बन्धी ज्ञान तथा कानुनी ज्ञानको अभाव देखिएकोले पसल, मार्ट, डिर्पाटमेन्ट स्टारलगायतलाई खाद्य स्वच्छता सम्बन्धी जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको आयोजक कार्यालयका प्रमुख विजय खनालले जानकारी दिए । 

खनालका अनुसार आफ्नो कार्यालय कारबाही गर्ने मात्र निकाय नभएको र सचेतना गराउने पनि निकाय भएकोले यस्ता कार्यक्रमहरु आयोजना गरिएको बताए । खाद्य स्वच्छताबारे समाजका सबै क्षेत्रको भुमिका हुनुपर्ने, खरिद गर्दा लेवलको विवरण हेरेर मात्र खरिद गर्ने र बिक्रेताले पनि त्यसमा ध्यान दिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले बजारलाई व्यवस्थित, अनुशासित, मर्यादित, सस्तो, सर्वसुलभ, उपभोक्तामैत्री र स्वस्थ्यकर बनाउने उद्देश्यले अन्तरक्रिया गरिएको बताए । अनुगमन गर्दा बेला बेला असझदारी पैदा हुने गरेको र त्यसको व्यवस्थाप गर्न अन्तरक्रिया गरिएको उनको भनाई थियो । स्थानीय सरकार र सरोकारवाला निकायले उपभोक्ताको हित गर्दै र व्यवसायलाई पनि सुरक्षित गर्दै प्रभावकारी अनुगमन गर्ने उनको भनाई थियो । 

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बजारमा देखिएको समस्याहरुबारे अन्तरक्रिया गर्दा उपभोक्ता र व्यापारी दुवै पक्षलाई सुरक्षित बनाउने बताए । उनले यस्ता अन्तरक्रिया र तालिमले व्यापारीहरुको पनि क्षमता अभिवृद्धि हुने र ज्ञानको दायरा बढ्ने भएकोले महत्वपुर्ण कार्यक्रम भएको धारणा राखे । अन्तरक्रियामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य अनुसन्धान अधिकृत शंकर न्यौपानेले खाद्य स्वच्छता सम्बन्धी कानुनी पक्षको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन उवा संघका सदस्य तथा तालिम संयोजक विष्णु वरालले गरेका थिए । 

भिडियो: