धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले १४ औं नगरसभा आगामी फागुन १५ गते आह्वान गर्ने निर्णय गरेको छ । 

बुधबार बसेको बैठकले नगरसभा दिउँसो १ बजे बस्ने निर्णय गरेपनि स्थान भने तोकेको छैन । कार्यपालिका सदस्यहरुले स्थान पनि तोक्न आग्रह गरेपनि मेयर हर्क साम्पाङले सैनिक भवनमा गर्ने मनसाय प्रकट गरेका थिए । यद्यपी, हल खाली भए नभएको बुझ्ने र निःशुल्क व्यवस्थाको पनि पहल गर्ने बताएका थिए । वडा नं ७ का अध्यक्ष जीवन सुवेदीले निःशुल्क प्राप्त हुने स्थानको खोजी गर्न सुझाव दिएका थिए ।

सभागृह तथा थिएटर हल बनाउन संघीय समपुरक अनुदान माग गर्ने

कार्यपालिका बैठकले समपुरक, बिशेष अनुदान र तराई मधेश समृद्धि कार्यक्रमको योजना छनौटको प्रस्तावमा तीन वटा महत्वपुर्ण योजना माग गर्ने निर्णय गरेको छ । यद्यपी, कार्यपालिका सदस्यहरुले अरु पनि योजना थप गर्न दिएको सुझावलाई पनि समेटेर माग पेश गर्ने निर्णय भएको छ ।

karyapalika1 1

बैठकले संघीय समपुरक अनुदानको लागि आर्थिक बर्ष २०८१/०८२ मा धरान ८ स्थित सभागृह तथा थिएटर हल निर्माणको योजना माग गर्ने निर्णय गरेको छ । आयोजनाको अवधि ३ बर्षको हुने र लागत अनुमान २४ करोड ९७ लाख ३६ हजार २३९ रहेको छ । 

यस्तै, संघीय बिशेष अनुदानको लागि धरान ६ पानवारीस्थित सरस्वती माविको भवन निर्माणको योजना माग गर्ने पनि निर्णय भएको छ । उक्त योजनाको अवधि पनि ३ बर्षको हुने र लागत अनुमान १० करोड ८४ लाख ९४ हजार ४ सय रहेको छ । यसैगरि, तराई मधेश समृद्धि कार्यक्रमको लागि धरान १५ श्याम चोकस्थित ङग्युर ञीङ्मा ङयुङने ल्हाखाङ गुम्बामा सामुदायिक भवन निर्माणको योजना माग गर्ने पनि निर्णय भएको छ । उक्त भवन निर्माणको अवधि १ बर्ष रहने र लागत अनुमान १ करोड ८२ लाख २७ हजार ७३९ रहेको छ । 

कार्यपालिका सदस्यहरुको असन्तुष्टी

बैठकमा समपुरक, बिशेष अनुदान र तराई मधेश समृद्धि कार्यक्रमको योजना छनौट माग गर्नेबारे सम्बन्धित पुर्वाधार विकास समितिलाई जानकारी नदिएको र छलफल पनि नभएको भन्दै कार्यपालिका सदस्य अनुप देवानले असन्तुष्टी जनाए । उनले समितिलाई जानकारी गराउनुपर्ने र समितिले अपनत्व लिएर कार्यपालिकामा प्रस्ताव आउदा ओजन बढ्ने बताए । साथै उनले अन्य योजनाहरु पनि समावेश गर्नुपर्ने धारणा राखेका थिए ।

यस्तै, कार्यपालिका सदस्य विकास भाटीले पनि डिपिआर बनेको धरान १७ स्थित सप्तरंगी पार्क, धरान १४ स्थित बहुजातीय संग्रहालयमा पनि लगानी गर्नेबारे सोच्नुपर्ने बताए । उनले ती योजनाहरुमा लगानी भए प्रतिफल पनि आउने र आर्थिक फड्को मार्न सकिने भन्दै त्यता लगानी गर्न ध्यान दिनुपर्ने माग गरे । 

अन्य वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले पनि योजनाहरु समावेश गर्नुपर्ने माग राखेपछि समपुरक र बिशेष अनुदानमा वडा नं ६ को वडा कार्यालय, धरान १३ को साइन्स पार्क, धरान १७ को सप्तरंगी पार्क, धरान १४ को बहुजातीय संग्रहालय धरान १५ को निर्माणाधिन क्रिकेट मैदान, धरान ११ को ज्ञानोदय माविको भवनलगायत योजनाहरु थप गरेर योजना माग गर्ने निर्णय भएको थियो । 

विद्युतीय सवारी साधनको लागि चार्जिङ स्टेशन स्थापना गर्न अनुरोध गर्ने

karyapalika2

कार्यपालिका बैठकले धरान २ स्थित भानुचोक आसपासमा विद्युतीय सवारीसाधनको लागि चार्जिङ स्टेशनको स्थापना गर्न विद्युत प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको छ । यसैगरि, विद्यार्थी सवार हुने सवारीसाधनहरुले पुरा गर्नुपर्ने मापदण्ड २०८० लाई स्वीकृत गरेको छ भने बालविकास केन्द्रले पुरा गर्नुपर्ने मापदण्ड पनि संशोधनसहित स्वीकृत गरेको छ । 

बैठकमा विविधमा समावेश गरिएको श्रमदाताहरुले निर्माण गरेको एसएनएस चौतारी, एसडिएस रक गार्डेन, एसडिबि रोज गार्डेन, आरा धरान पार्क, गोर्खा स्मारक स्तम्भलाई नगरको पर्यटन, सम्पत्ति तथा आयश्रोतकोरुपमा सुचीकरण गर्ने एजेण्डामा निक्कै लामो बहस भएको थियो । वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले उक्त एजेण्ड अर्को बैठकमा ल्याउन र पर्याप्त छलपल गरेर पारित गर्न आग्रह गरेका थिए भने मेयर साम्पाङले आजकै बैठकबाट पारित हुनुपर्ने अडान लिएका थिए । 

विवाद लम्बिदै गएपछि मेयर साम्पाङले कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुलाई सल्लाह गर्ने समय भन्दै करिब २० मिनेट बैठक स्थगित गरेका थिए । पुनः बैठक सुचारु भएपछि अर्को बैठकमा छलफल विना स्वतः पारित गर्ने सहमति भएको थियो । 

भिडियो:

भिडियो:

भिडियो:

भिडियो: