धरान: पुर्खा दिवसको अवसरमा आगामी चैत ३ गते दोस्रो गोर्खा ट्रेल ब्लेजर रन तथा सम्मान कार्यक्रम आयोजना हुने भएको छ ।

गोर्खा सेमेट्रीज ट्रष्टले मंगलबार धरानमा पत्रकार सम्मेलन गरेर ट्रेल ब्लेजर रन तथा सम्मान कार्यक्रमबारे जानकारी दिएको हो । चैत ३ गते शनिबार धरान १८ स्थित रत्न चौकदेखि धरान २० माछामारास्थित गोर्खा स्मृति पार्कसम्म ८।५ किलोमीटर दौड हुनेछ भने विश्व युद्ध लडेका जिवित योद्धाहरुलाई सम्मान गरिने आयोजक ट्रष्टका अध्यक्ष महेन्द्र राईले जानकारी दिए ।

दौड प्रतियोगितामा करिब ५ सय जनाले सहभागीता जनाउने आयोजकको भनाई छ । सहभागीहरुलाई फर्म शुल्क ३ सय ५० रुपैयाँ तोकिएको छ । प्रतियोगिताको महिला र पुरुष विजेता, उपविजेताले जनही नगद १५ हजार, १० हजार र ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने राईले जानकारी दिए । सहभागीहरुलाई टिसर्ट,  मेडल, प्रमाणपत्र पनि दिइनेछ ।

रत्नचोकबाट शुरु हुने दौडको समापन गोर्खा स्मृति पार्कमा हुनेछ । त्यहाँ झापाका १०३ बर्षका डम्बरध्वज राई, भोजपुरका १०१ बर्षका इन्द्रबहादुर राई, तेह्रथुमका बमबहादुर निङ्लेखुङ लिन्बु र खोटाङ जन्तेढुङ्गाका ९९ बर्षका डम्बरसिंह सुप्तिहाङ राईलाई सम्मान गरिने पनि आयोजकले जनाएको छ । प्रतियोगितामा धरान १८ वडा कार्यालयको सहकार्यमा हुनेछ ।

विश्व शान्तिको लागि प्रथम, दोस्रो विश्वयुद्ध तथा विभिन्न युद्धहरुमा ज्यान गुमाएका वीर गोर्खा सैनिकहरुको सम्मान र सम्झनामा विविध कार्यहरु गर्न सन् २००६ मा हङकङमा ट्रष्ट स्थापना भएको हो । नेपालमा सन् २०१८ मा ट्रष्ट स्थापना भएको र ५ अप्रिललाई पुर्खा दिवसकोरुपमा विविध कार्यक्रमहरु आयोजना गरिदै आएको छ । ट्रष्टले गत बर्षदेखि भने धरानमा वडा १८ सँगको सहकार्यमा ट्रेल ब्लेजर रन तथा सम्मान कार्यक्रम गर्दै आएको छ । 

गत बर्ष तेह्रथुम निवासी १०२ बर्षीय पुर्वब्रिटिश आर्मी धनदलसिंह लिम्बु, धनकुटाका १०१ बर्षीय पुर्वब्रिटिश आर्मी माघबहादुर लिम्बु, ओखलढुंगाका १०२ बर्षीय धनसिंह राई र झापाका क्याप्टेन भिसि रामबहादुर बेघा लिम्बुलाई सम्मान गरिएको थियो ।