धरान: शिक्षामन्त्री अशोककुमार राईले आफु धरानका मेयर हर्कराज राईको प्रशंसक भएको बताएका छन् ।

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा आइतबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री राईले अहिले राजनीतिक नेताहरुप्रति धेरै अविश्वास बढीरहेको तर धरानका मेयरले भने जनताको ढुकढुकी छामेकोले साथ पाइरहेको धारणा राखे । पार्टीहरुले श्रमदानमा बोलाउदा सय जना मान्छे भेला नहुने तर मेयर साम्पाङले बोलाउदा एक दिनमा १२ हजार मान्छे परिचालन भएको उनको भनाई थियो ।

‘अहिले राजनीतिक नेताहरुप्रति यति अविश्वास बढीसकेको छ कि लौ न सबै चिज हुन्छ, श्रमदान गर्न आइदिनुस् भन्दा सय जना मान्छे भेला हुदैन,हर्कराज राईले लौ न पाइप बोक्नु पर्यो, ढुंगा बोक्नुपर्यो भन्दा १२ हजार मान्छे एक दिनमा परिचालित भएको छ,’उनले भने ।यही उदाहरण दिदै आफुले राजनीतिक गर्नेहरुलाई ‘हामीले भन्दा हर्कराजले जनताको ढुकढुकी छामेको रहेछ’ भन्ने गरेको पनि मन्त्री राईले बताए । उनले भने,‘मैले राजनीति गर्ने साथीहरुलाई भन्ने गरेको छुँ, हामीले भन्दा हर्कराजले जनताको ढुकढुकी छामेको रहेछ, हर्कराजलाई जनताले पत्याउदो रहेछ । यो वास्तविकता हो ।’ उनले मान्छेलाई भाषणमा भन्दा पनि काममा हेर्नु पर्ने बताए । 

सप्तकोशीको पानी ल्याउन ५ अर्ब लाग्ने

nast

शिक्षामन्त्री राईले सप्तकोशीको पानी ल्याउने योजनाको सर्वे सकिएको जानकारी दिदै खानेपानी मन्त्रालयले २०८१÷०८२ को बजेटमा योजना प्रस्ताव गर्ने ठाउँमा पुगेको बताए । ‘अहिलेको मुल्यसुची अनुसार ५ अर्बको लगानीमा सप्तकोशीमा बोरिङ गरेर डाढामा लिफ्टीङ गरेर ल्याउने कुरा छ । जग्गा खोजी पनि सक्नुभएको छ, मेयर साबले,’मन्त्री राईले भने,‘त्यो प्रोजेक्ट सम्पन्न गर्नेतर्फ सुरुवात हुदैछ, निरन्तर भयो भने २, ३ बर्षमा सकिन्छ भन्ने अपेक्षा गर्नसक्छौं,’उनले भने ।

विकासको आधार प्रकृति, सँस्कृति र प्रविधि:मेयर साम्पाङ

sampang

मेयर हर्क साम्पाङले विकासको आधार प्रकृति, सँस्कृति र प्रविधि भएको बताए । उनले कार्यक्रमस्थलमा आउदै गर्दा ढुंगे मेयर भनेको भन्दै ढुंगा बोकेर नै धरानले इज्जत कमाएको पनि बताए । ‘प्रविधिले मात्र विकास हुदैन, प्रकृतिलाई विनास गर्ने हो भने र सँस्कृतिलाई विर्सने हो भने विकास हुदैन,’उनले भने,‘यी तीन कुरालाई सँगै लिएर अघि बढ्नुपर्छ ।’

धरानमा नाष्टको प्रदेश कार्यालय स्थापना हुन लागेकोमा मेयर साम्पाङले मन्त्री राईलाई धन्यवाद पनि दिए । ईञ्जिनियरीङ क्याम्पसमा आबिष्कार केन्द्र पनि स्थापना गर्न लागेको उनको भनाई थियो । ‘अहिले केन्द्र सरकारले माया गर्न थालेको हो कि भन्ने लागेको छ । नाष्टको प्रदेश कार्यालय धरानमा दिनुभयो । अब छिट्टै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्छु,’मेयर साम्पाङले भने,‘फोटो सधैको लागि हटाएको होइन, विकासको फोकस धरानलाई गर्नुपर्छ भन्ने मेरो अडान हो, आन्दोलन हो । धरानमा विकास नहुने ? कार्यालयहरु पनि धरानबाट अन्यत्र लैजाने ? अहिले केन्द्र सरकारले माया गर्न थालेको हो कि भन्ने लाग्यो ।’

भिडियो:

भिडियो