धरान: धरानका विभिन्न ९ राजनीतिक दलहरुले मेयर हर्क साम्पाङले आफु अनुकुल विचार व्यक्त नगर्नेहरुमाथि गर्दै आएको तुच्छ अभिव्यक्ति र व्यवहारले लोकतन्त्रलाई लज्जित बनाएको आरोप लगाएका छन् ।

ती दलहरुले बिहिबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै मेयरमा निवार्चित हुनुअघि आफुले गरेको हर्कत र मेयर भएपछि पनि गरेका हर्कतहरु आफै विश्लेषण गर्न पनि साम्पाङलाई अनुरोध गरेका छन् । पछिल्लो पटक सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका टेलिकमका कर्मचारी शिव धमलालाई कार्यकक्षमा बोलाएर हप्काएको घटनाप्रति पनि विज्ञप्तीमा गम्भीर आपत्ति प्रकट गरिएको छ । यद्यपी, विज्ञप्तीमा उक्त घटनाबारे स्पष्ट नलेखि पटक पटक आधा दर्जन भन्दा धेरै जनतालाई आफ्नो कार्यकक्षमा बोलाएर बन्धक बनाएको र धरान छाडेर जा भन्ने उर्दी जारी गर्दै दुव्र्यवहार गरेको घटनाप्रत्ति आपत्ति जनाइएको छ । 

मेयर साम्पाङले सबैथोक आफु भएको भन्दै कर्मचारीप्रति गरेको व्यवहार अभिव्यक्ति स्वतन्त्रता तथा मानवअधिकार माथि नांगो हस्तक्षेपले लज्जित बनाएको पनि विज्ञप्तीमा उल्लेख छ । मेयरले जातीय, धार्मिक तथा साँस्कृतिक एकतामाथि खलल पुग्ने गरि दिदै आएको अभिव्यक्तिलेसमेत समाजलाई विभाजित गर्न खोजेको विज्ञप्तीमा उल्लेख छ । 

विज्ञप्तीमा भनिएको छ,‘अतः यसरी जातिय, धार्मिक तथा साँस्कृतिक एकतामाथि खलल पुर्याउदै आफु अनुकुल नभएका प्रश्नहरुको जवाफ दिन नसक्ने र प्रश्न गर्नेलाई सार्वजनिक बेइज्जती गर्ने, आफ्ना अगुवा पछुवा लगाएर धम्की दिने तथा अश्लिल गाली गर्न लगाउने जस्ता घटनाहरु भइरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

पार्टीहरुले मेयर साम्पाङलाई आफ्नो काम, कर्तव्य र अधिकार राम्रोसँग अध्ययन गर्न र संविधानले ग्यारेन्टी गरेका बिषयमा धावा नबोल्न पनि सचेत गराएका छन् । संयुक्त विज्ञप्ती जारी गर्ने पार्टीहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नागरिक उन्मुक्ति पार्टी, राप्रपा नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेको छ ।

9 poilitics