धरान: प्रर्दशनमा आउनु अघि नै अन्तर्राष्ट्रियरुपमा नै चर्चा कमाएको नेपाली चलचित्र गोर्खा वारियरको शनिबार धरानमा प्रिमियर शो भएको छ ।

धरान ८ स्थित फ्रेन्ड्स सिनेमामा रेड कार्पेटमा प्रिमियर गरिएको यो चलचित्र हेर्न कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, प्रदेशसभा सदस्यद्धय रमेश बस्नेत र विजय राई, मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघालगायत पनि पुगेका थिए । प्रिमियर शो हुनुअघि धरानको छाताचोकदेखि बाजागाजासहित साँस्कृतिक र्याली पनि निकालिएको थियो । र्यालीमा मेयर साम्पाङसँगै चलचित्रका नायक रितेश चाम्स, नायिका रेविका गुरुङ, रेयर राईलगायत कलाकारहरु पनि सहभागी थिए ।

gurkha warrior1

र्यालीमा सहभागीहरुलाई फ्रेन्ड्स सिनेमाको आँगनमा रेड कार्पेटमा स्वागत गरिएको थियो । मलायाको जंगलमा भएको युद्धको वास्तविक घटनामा आधारित भएर तयार गरिएको चलचित्रले हेर्दै गर्दा धेरैको आँखा रसाएको प्रतिक्रिया दिएका छन् । लाहुरेहरुको सहर धरानका दर्शकहरुले आफ्नै बुबा, बाजेहरुले भोगेको र सुनाएको कथा चलचित्रमा पाएको प्रतिक्रिया दिए । 

भारतीय एवं बेलायती सेनामा भर्ती भएर विदेशी भुमीमा युद्ध लड्न पुगेका हजारौं नेपालीहरुले उतै ज्यान गुमाएका छन् । उनीहरुले वीरता पुर्वक लडेकै कारण नेपालीहरुलाई विश्वमा वीर गोर्खाली भनेर चिनाएको छ । तिनै वीर गोर्खा सैनिकहरुले युद्धको क्रममा भोग्नुपरेको दर्दनाक पीडा, यता गाउँमा आफ्नो छोराको बाटो हेरिरहेकी  बृद्धा आमा र लाहुरेको पर्खाइमा रहेकी श्रीमतिको पीडालाई गोर्खा वारियरले बोलेको छ । 

gurkha warrior3

मुख्यमन्त्री कार्कीले फिल्म हेरेपछि गोर्खालीहरुले देशको गौरव राखेको प्रतिक्रिया दिदै फिल्मले गोर्खा सैनिकहरुको इतिहास, गौरव र वीरताको इतिहासलाई जिवित राखेको बताए । ‘यो फिल्मले हाम्रो इतिहास, पुर्खाको गौरव र वीरतालाई जस्ताको तस्तै उतारेर नयाँ पुस्तालाई पुर्खाहरुको वीरताप्रति गौरव गर्ने ज्युँउदो इतिहास देखाइदिएको छ,’उनले भने ।

मेयर साम्पाङले फिल्मलाई व्याख्या गर्ने शब्द नभएको बताए । आफु धेरै जसो समय रोएको भन्दै उनले लाहुरेहरुको पीडालाई अनुभूत गरेको बताए । ‘आमा र श्रीमतिले पर्खनुपरेको पीडा, आमाले छोराको तस्बिर हेर्दै देह त्याग गर्नुपर्ने अवस्था । उता अनेक संघर्ष र पीडा सहेर लड्नुपर्ने अवस्था, साथीभाईलाई सद्गद गर्नुपर्ने अवस्था, यी सम्पुर्ण कुरालाई छोइरहेको थियो,’मेयर साम्पाङले भने,‘सबैले हेर्नुपर्छ, तर बिशेष गरेर लाहुरे परिवारको सदस्यले त हेर्नै पर्छ । हामी घर बनाउन गएका हौ नि, तर हेर्नुस् त कति दुःख रहेछ ?’ 

gurkha warrior5

फिल्म हेरेपछि समाजसेवी गंगा लिम्बुले आफुलाई स्वर्गीय बुबाको याद दिलाएको बताइन् । बुबाले युद्ध लड्दा बम, गोली पड्केको घटनाहरु गाउँका सबैलाई सुनाउने गरेको स्मरण गर्दै उनले भनिन्,‘मेरो बुबा त ७ बर्षपछि घर आउनु भएको थियो रे । आज फिल्म हेर्दा बुबा झल्झली सम्झिए ।’

अर्का समाजसेवी शिव वान्तवा राईले फिल्म हेरुञ्जेल आफुले बुबा र भाईलाई सम्झिएर रोएको बताइन् । ‘जति पनि लाहुरे भिड्न तालिम लिइरहेका भाईहरुले हेरुन, यो फिल्मले यथार्थ चित्रण गरेको छ । यो फिल्म होइन, सत्य कुरा देखाइएको छ,’उनले भनिन्,‘म फिल्म शुरु भएदेखि नै भावविह्वल भए । बुबालाई सम्झिए, भाईलाई सम्झिए ।’

भिडियो:

भिडियो:

भिडियो: