धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जंगलतर्फको गेट डोजर लगाएर भत्काइएको छ । 

नेकपा माओवादी केन्द्र १९ नम्बर कमिटीको अगुवाईमा शनिबार दिउँसो गेट भत्काइएको हो । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुल्ला गर्नुपर्ने माग गत भदौदेखि गर्दै आएको थियो । 

माओवादी नेता, कार्यकर्ताहरुको निर्देशनमा गेट भत्काइए पनि प्रहरीले डोजर मालिक प्रदिप क्षेत्री र अपरेटर उदिम खड्का पक्राउ गरेको छ । उक्त डोजर पञ्चायनबाट ल्याइएको थियो । माओवादी नेता सन्तोष लिम्बुले माओवादीको नेतृत्वमा जनताले नै गेट भत्काएको बताए । उनले निर्दोष मालिक र अपरेटर पक्राउ गरेको तर प्रहरीलाई आफुहरुलाई समातेर उनीहरुलाई छोड्न आग्रह गरेपनि नमानेको उनले बताए । 

लिम्बुले १३ औं पटक वीपीका पदाधिकारीहरुसँग छलफल गरेको तर वेवास्ता गरेपछि गेट भत्काउन बाध्य भएको बताए । उक्त गेट बन्द हुँदा वडा ८ र १९ का जनता मारमा परेको पनि उनले बताए । गेट खोल्न मेयर र उपमेयरलाई पनि ज्ञापन पत्र बुझाएको लिम्बुले बताए । वीपी प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.सुर्य संग्रौलाले घटनाबारे आवश्यक कानुनी प्रक्रियामा जाने बताए । उनले सुरक्षा थ्रेटको कारण गेट खोल्न नसकिएको पनि बताए । 

bp gate dhrn