धरान: नगर सभाअघि बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा आज पनि लफडा भएको छ ।

दिउँसो १ बजेको लागी नगरसभा बोलाइएको छ । उक्त नगरसभामा बजेट संशोधनको लागी लगिने प्रस्ताव अनुमोदन गर्न बिहान ८ बजे बसेको बैठकमा लफडा भएको हो । बैठकमा वडाको बजेट संशोधन गर्न मेयर हर्क साम्पाङले प्रस्ताव पेश गरेका थिए । वडा कार्यालयहरुबाट आएको बजेट संशोधन (रकमान्तर) गर्नेबारे सहमति जुटेपनि उपमेयर संयोजक रहेको बजेट तर्जुमा समितिले विभिन्न बिषयगत समितिमार्फत आएको संशोधनको प्रस्ताव पनि पेश भएको थियो । 

उक्त प्रस्तावमा भने मेयर साम्पाङले आफुलाई जानकारी नदिई प्रस्ताव ल्याएको भन्दै असहमति जनाएका थिए । उनले कार्यपालिका बैठकमा प्रस्ताव आफुमार्फत मात्र आउने भन्दै उक्त रकमान्तरको प्रस्ताव स्वीकार्य नहुने अडान लिए । उपमेयर अइन्द्रबिक्रम बेघाले भने कानुन वमोजिम र प्रक्रिया अनुसार बिषयगत समितिमार्फत आएको प्रस्तावलाई बजेट तर्जुमा समितिले रकमान्तरको प्रस्ताव कार्यपालिकामा निर्णयार्थ ल्याएको बताएका थिए । मेयर साम्पाङले आफुलाई थाहै नदिई बैठकमा प्रस्ताव ल्याउन नपाइने भन्दै डिपिआर शिर्षकको बजेट अन्यत्र लैजान नहुने र मेयर कोषलाई पनि बजेट थप गर्न रकमान्तर गर्नुपर्ने बताएका थिए । 

त्यसक्रममा मेयर, उपमेयर, कार्यपालिका सदस्यहरुबीच आरोप प्रत्यारोप पनि चलेको थियो । वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले मेयर साम्पाङलाई हिटलर र नश्लवादी चरित्र भएको आरोपसमेत लगाएका थिए । बैठकको अन्त्यमा वडा नं १५ का अध्यक्ष नरेश इवारमले बजेट रकमान्तरबारे २ वटा प्रस्ताव आएकोले मेयर, उपमेयर, बिषयगत समितिका संयोजकहरुबीच बैठक बसेर सहमति कायम गरेर ल्याउन सुझाव दिएका थिए । उनकै सुझाव वमोजिम सल्लाह गर्ने भन्दै मेयर साम्पाङले बैठक स्थगित गरेका थिए ।

भिडियो:

भिडियो: