धरान: सहिद स्मृति मावि धरान ८ ले प्रवेश परीक्षा लिएर मात्र प्राविधिक बिषयको भर्ना लिने भएको छ ।

विद्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै यस बर्षको प्राविधिक विषयको भर्ना लिदा प्रवेशिका परिक्षा लिने जानकारी दिएको हो । उक्त विद्यालयमा गत बर्षदेखि कक्षा ९ देखि १२ सम्म प्राविधिक धारको कम्प्युटर इन्जिनियरीङ अध्यापन शुरु भएको छ । विद्यालयका प्रध्यानाध्यापक राम बिष्टका अनुसार ४८ वटा कोटा रहेको छ ।

उक्त कोटाको लागि १ सयभन्दा बढी विद्यार्थीहरुबाट खुल्ला प्रतिस्पर्धा गराएर मात्र भर्ना लिने प्रअ बिष्टले बताए । उनका अनुसार गत वर्ष स्वीकृति भएको र पढाई शुरु गर्न ढिला भएको थियो । त्यसैले गत बर्ष कोटा भन्दा कम विद्यार्थी भर्ना भएको विद्यालयको भनाई छ । प्रअ बिष्टले आगामी शैक्षिक सत्रमा कक्षा १ देखि ९ सम्म पनि भर्नाका लागि प्रवेश परिक्षा मार्फत प्रतिस्पर्धा गराउने पनि बताए । साथै उनले यस वर्ष कक्षा ८ मा अंगेजी माध्यममा पढाई शुरु गर्न लागेको पनि बताए । 

आजको आवश्यकता प्राविधिक शिक्षा भएकोले अभिभावक र विद्यार्थीहरुको चासो प्राविधिक धारतर्फ बढ्दै गएको प्रअ बिष्टले बताए । 'प्राविधिक धारमा पनि कम्प्युटर शिक्षा अझ बढी विश्व बजारमा माग बढदै गएकोले अभिभावक र विद्यार्थीमा यो बिषयले आकर्षण बढाएको छ,' प्रअ बिष्टले भने, 'यो बिषय अध्ययन गरेका विद्यार्थीहरु स्वदेशमा स्वरोजगार हुन्छन्, र विश्व वजारमा पनि काम गर्न योग्य, दक्ष जनशक्तिकोरुपमा खपत हुनसक्छन् ।'