धरान: बरिष्ठ लोकगायक गंगा बरदानलाई आर्थिक सहयोगार्थ बिहिबार धरानमा च्यारिटी कन्सर्ट हुदैछ । 

धरान १६ स्थित रंगशालामा जारी एक्स्पोस्थलमा नै भोली (बिहिबार) च्यारिटी कन्सर्ट हुनेछ । यो सांगीतिक कार्यक्रम गायक गंगा बरदानमा समर्पित भएर आयोजना हुन लागेको हो । कन्सर्टमा चर्चित पप गायक धीरज राई र चर्चित गायिका मिलन नेवार पनि आउदैछन् । साथमा स्थानीय कलाकार आस्था एण्ड द ब्रदस र शिर्षक एण्ड द फ्रेन्ड्सजको पनि प्रस्तुती हुनेछ । गंगा बरदानले पनि गीत गाउनेछन् । 

कार्यक्रमको बिशेष आकर्षण रहने धिरज राई युवा पुस्तामाझ लोकप्रिय छन् । उनको लुकी लुकी आँखा तिमी, तिम्रा नयन, तिमी रुदा, सोइ ढोले सोई, जाउ समाऊ, हिमाल नझुकेसम्म जस्ता थुप्रै चर्चित गीतहरु छन् । उनी पछिल्लो समय बुद्ध नेपालमा जन्मेका हुन् भन्ने अभियानमा विश्व संगीत यात्रामा छन् । 

यसैगरि, जहिले सम्म संसारमा, गाला रातै, इट्स स्लोली, फुलबुट्टे सारी, सुनसान रातमा, जनम जनम जिउला लगायतका थुप्रै गीतहरुबाट मिलन नेवार चर्चित छिन् । उनी  भोइस अफ नेपालकी कोच समेत हुन् । उनको टिमबाट बिनोद राई गएको सिजनमा बिजेता भएका थिए ।

गायक बरदानको छपनीले छान छान डबकीले हान, कहाँमा काट्यो बेतको लौरी, बजारै भरौन धरानै, सिमसिम पानी, माया गर्ने बानी, जीउको मासु , धराने हावा जस्ता थुप्रै गीत चर्चित छन् । उमेरले ७१ बर्ष काटिसकेका बरदान संगीत क्षेत्रमा ५० बर्षे लामो यात्रा तय गरिसकेका छन्। 

भोजपुरको दिङ्ग्लामा जन्मेका गायक बरदान श्रीमतीका साथ धरान -१४ विजयपुरमा भाँडामा बसेका छन्। आर्थिक अवस्था कम्जोर भएकोले सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापन तथा सेवक अभियान र धरान संगीत प्रतिष्ठानको संलग्नतामा यो च्यारिटी कन्सर्ट हुने भएको हो । कार्यक्रमबाट उठेको सम्पूर्ण रकम गंगा बरदानले मासिक रुपमा पाउने गरि स्थानीय बैंकमा जम्मा गरिने आयोजकले जनाएको छ।