धरान: न्यु रोड टिम (एनआरटि)ले गत बर्षको उपविजेता टोली काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई हराउदै २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनल प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालामा बिहिबार भएको दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा एनआरटिले झापालाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । निर्धारित समयमा दुवै टिमले बराबरी १–१ गोल मात्र गरेपछि टाइब्रेकरबाट खेलको छिनोफानो गरिएको थियो । 

jhapa

टाइब्रेकरमा एनआरटिका सरोज तामाङ, सनम लिम्बु, शिशिर लेखी, जय गुरुङ र मोहित गुरुङले गोल गरे । झापाको पहिलो प्रहार नै असफल भएको थियो । झापाका विशाल घलानको प्रहार एनआरटिका गोलकिपर प्रमिजय गच्छदारले असफल बनाइदिए । झापाका विमल घर्ती मगर, अभिषेक गुरुङ, दिवस उराउ र देवेन्द्र तामाङको प्रहार भने गोल भएको थियो । 

jhapa2

निर्धारित समयको खेलमा भने पहिलो हाफको ४३ औं मिनेटमा झापाका विदेशी खेलाडी फोडा फोपानेले गोल गरेका थिए । लगत्तै इञ्जुरी समयमा एनआरटिका सरोज तामाङले फ्रिकिकबाट सुन्दर गोल गरेका थिए । उनले करिब ३० यार्ड टाढाबाट गरेको प्रहार गोल भएको थियो । उनी म्यान अफ दि म्याच घोषित हुदै नगद १० हजार, ट्रफी, टिसर्ट पुरस्कार हात पारे । उपाधिको लागि शनिबार एनआरटि र मोरङ फुटबल संघबीच फाइनल खेल हुनेछ ।