धरान: धरान १६ की २१ बर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै प्रेमीलाई पक्राउ गरि सार्वजनिक गरेको छ।

ईलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गर्दे सुनसरी प्रहरी प्रमुख तथा एसपी विपिन  रेग्मीले धरान १७ का १९ बर्षीय सविन भन्ने बाबुराम भुजेलले सुमनाको हत्या गरेको जानकारी दिए । पक्राउ परेका भुजेललाई पनि सार्वजनिक गर्दै एसपी  रेग्मीले अनुसन्धानको लागि ७ दिनको म्याद थप गरिएको पनि जानकारी दिए । 

उनका अनुसार अभियुक्त भुजेललाई घटनाबारे जानकारी पाएको २४ घण्टा पनि नबित्दै धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं ९ स्थित मुलघाटमा लुकीछिपी रहेको अवस्थामा हिजो बिहिबार पक्राउ गरिएको थियो । उनको साथबाट मृतक सुमनाले प्रयोग गर्ने मोवाइल पनि वरामद गरेको छ । सिम भने भुजेलले फुटाएर खोलामा बगाइदिएको वयान दिएका छन् ।

sumana murder2

बुधबार दिउँसो सुमनाको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको बीचमा रहेको खोल्सामा फेला परेको थियो । सुमनाको घाँटी रेटिएको अवस्थामा शव घोप्टो परेको थियो । एसपी  रेग्मीका अनुसार बाबुरामले नियोजितरुपमा नै सुमनाको हत्या गरेका हुन् । सुमना अर्कै केटासँग नजिकिएको सुइको पाएपछि हत्या गर्ने नियतले नै बाबुरामले खुकुरी किनेर लगेको र स्कुटर सिकाउदै लगेर राती हत्या गरेको पनि प्रहरीले जनाएको छ । 

सुमना र बाबुरामको प्रेममा प्रदिपको इन्ट्री

घटनाको अनुसन्धान गर्ने क्रममा मृतक सुमना र बाबुरामबीच २ बर्षदेखि फेसबुकमार्फत प्रेम सम्बन्ध भएको खुलेको छ । तर, गत पुष महिनादेखि सुमना ग्लोबलओरियन्स धरानमा काम गर्न थालेपछि सोही कम्पनीमा काम गर्ने प्रदिप श्रेष्ठसँग चिनजान भएर नजिकिएका थिए । उनीहरुले फेसबुक आइडी पनि एउटै चलाउने गरेकोले कारण बाबुराम र सुमनाबीचको प्रेम सम्बन्ध चिसिन थालेको प्रहरीले जनाएको छ ।

sumana murder

पछिल्लो समय चैत २ गतेदेखि बाबुराम काम गर्ने सिलसिलामा धनकुटाको मुलघाट बस्न थालेपछि उनीहरुको प्रेम सम्बन्धमा झनै खटपट हुन थालेको थियो । घटना भएको दिन चैत ६ गते बाबुराम सुमनालाई भेटन धरान आएका थिए । साँझदेखि नै भेटघाट गरेर आफ्नै स्कुटरमा राखेर बाबुरामले सुमनालाई स्कुटर चलाउन सिकाउदै राती ९ बजे घटनास्थलमा पुगेका थिए । घटनास्थलमा पुगेपछि दुवैबीच फेसबुक प्रयोगको बिषयमा विवाद भएको र योजना वमोजिम नै बाबुरामले साथमा बोकेको खुकुरी निकालेर सुमनाको घाँटी रेटेर हत्या गरि खोल्सामा फालेको एसपी  रेग्मीले बताए । 

हत्या पश्चात बाबुराम भने सोही राती भागेर धनकुटा पुगेका थिए । प्रहरीले उनलाई मुलघाटमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर धरान ल्याएको थियो । हालसम्मको अनुसन्धानबाट सुमनाको हत्यामा बाबुरामको मात्र संलग्नता देखिएको भएपनि विभिन्न कोणबाट अनुसन्धान जारी रहेको एसपी  रेग्मीले बताए ।