धरान: कोशी राजमार्गको पानीपियादेखि सेउतीसम्मको सडकखण्ड पिच नगरिदा सर्वसाधारण यात्रुहरुले धुलोबाट सास्ती मात्र पाएका छैनन्, दुर्घटनामा ज्यानसमेत गुमेको छ । 

धरान इटहरी ओहोर दोहोर गर्ने यात्रु, एम्बुलेन्समा विरामीले असाध्यै सास्ती खेपेका छन् । ठेकेदार कम्पनी प्यासिफिक जेभीले समयमा नै निर्माण कार्य सम्पन्न नगर्दा आम जनताले सास्ती खोप्नु परेको हो । सम्बन्धित ६ लेन सडक आयोजना, जनप्रतिनिधिहरु, यातायात व्यवसायीहरुले सडक चाडो निर्माण सम्पन्न गर्न निरन्तर दबाब थिएका थिए । चौतर्फी दबाब परेपछि ठेकेदारले पिच गर्न बाँकी रहेको सडकखण्डको एकातर्फ काम शुरु गरेको छ । 

हाल यो सडकको २ किलोमिटर पिच भइरहेको छ । अस्फाल्ट प्रविधिबाट पिच गर्ने काम भइरहेको र एक साताभित्र निर्माण कार्य सक्ने लक्ष्य राखिएको आयोजनाको सुपरभाईजर दिनेशकुमार दाहालले जानकारी दिए । आफुहरुले पनि ठेकेदर कम्पनीलाई चाडो काम सम्पन्न गर्न निरन्तर निर्देशन इिरहेको उनको भनाई थियो । ठेकेदार कम्पनीका प्रतिनिधि एवं क्वालिटी कन्ट्रोलर अनिल देवकोटाले असारसम्म म्याद थप भएकोले यो समयभित्र सबै काम सक्ने गरि निर्माण कार्य हुने बताए ।

road1

पिच निर्माण कार्यको शुक्रबार प्रदेश सभा सदस्य (सांसद) विजयकुमार राई, धरान वडा नं २ का अध्यक्ष रमेश राई र वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)सहितको टोलीले स्थलगत निरीक्षण गरेका थिए । उक्त टोलीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश अध्यक्ष सरोज श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम राई ज्वाला, एमाले नेता नारायण सुवेदीलगायत अनुगमनमा पुगेका जिए । 

प्रदेश सांसद राईले सडक निर्माण कार्य ढिलाई हुँदा ज्यानसमेत गएकोले निरन्तर दबाब दिएर निर्माण कार्य सुचारु भएकोमा खुशी व्यक्त गरे । उनले भने,‘धेरै ढिलाई गरेकोले दुर्घटना पनि धेरै भयो । तर अब काम शुरु भएको छ, र ठेकेदारले चाडै सक्ने भनेको छ । यो एकातर्फको सकेर सञ्चालन गर्ने र अर्कोतर्फ शुरु गर्ने जानकारी दिएको छ ।’

मजदुर भिम राई ज्वालाका अनुसार पछिल्लो २ बर्षमा मात्रै यो सडक खण्डमा दुर्घटनामा परेर १० जनाको मृत्यु भएको छ भने ५५ भन्दा बढी घाइते भएको तथ्यांक छ । ‘दुर्घटनाको श्रृंखला एकदमै बढेको थियो, त्यसैले हामी सबैले अनुगमन पटक पटक गर्यौ, निगरानी गर्यौ, आयोनजा प्रमुखसँग पहल गर्यौं, ठेकेदर कम्पनीसँग कुरा गर्यौं,’ उनले भने, ‘अब २५ सय मिटर बाकी रहेछ, २ किलोमिटर तत्काल एक साताभित्र सकिने भनेको छ । एकातर्फ पिच बनेर सञ्चालन गर्ने र अर्कोतर्फ काम गर्ने भनेकोले चाडै नै सबैलाई राहत मिल्नेछ ।’

भिडियो: