धरान: मुख्यमन्त्री केदार कार्कीविरुद्धको संकल्प प्रस्ताव कोशी प्रदेशसभाबाट पारित भएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दर्ता गराएको संकल्प प्रस्ताव बहुमतले प्रदेशसभाबाट पारित भएको हो । प्रस्तावको पक्षमा ५२ सांसदले मत दिएका थिए भने ३ जना सांसद तटस्थ रहेका थिए । विपक्षमा भने शुन्य मत भएको थियो । विपक्षमा रहेका सांसदहरुले आफ्नो मत जाहेर नगरेका कारण शुन्य मत भएको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिएका छन्।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संकल्प प्रस्ताव राखेका थिए भने एमालेका किशोरचन्द्र दुलाल र माओवादी केन्द्रका गणेश उप्रेतीले समर्थन गरेका थिए । उक्त संकल्प प्रस्तावमा पारित भएपछि अब मुख्यमन्त्री कार्कीले राजिनामा दिनुपर्ने वा विश्वासको मतको सामना गर्नुपर्ने छ ।

मुख्यमन्त्रीमा कार्की नियुक्त हुँदा समर्थनमा हस्ताक्षर गरेका सांसदहरुले आफ्नो सर्मथन फिर्ता गरिसकेकोले राजिनामा दिन वा विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट मुख्यमन्त्रीलाई निर्देशन गर्न संकल्प प्रस्तावमा माग गरिएको थियो । मुख्यमन्त्री कार्की भने विश्वासको मत नलिने अडानमा छन् ।