धरान: धरान उपमहानगरपालिकाको नगर यातायात गुरुयोजना बन्ने भएको छ । यसकोलागि उपमहानगरपालिकाले परामर्शदाता पनि छनौट गरिसकेको छ । 

गुरुयोजना तयार गर्न परामर्शदाताकोरुपमा पिकासो जिआइएसएमसि गनक जेभि छनौट भइसकेको छ । उक्त कम्पनीले २०८१ भदौ २० गतेसम्म कार्यसम्पन्न गर्ने गरि सम्झौता पनि भइसकेको उपमहानगरपालिकाले जानकारी दिएको छ । उक्त परामर्शदाता कम्पनीले सोमबार मेयर हर्क साम्पाङसहित वडाअध्यक्ष, कार्यपालिका सदस्य र योजना महाशाखाका कर्मचारीहरुसँग प्रारम्भिक छलफल गरेको थियो ।

योजना तथा इञ्जिनियरीङ महाशाखा प्रमुख सुरज श्रेष्ठका अनुसार नगर यातायात गुरुयोजना बनाउन प्रारम्भिक छलफल भएको हो । अब परामर्शदाताको टोली वडा वडामा पुगेर तथ्यांक संकलन एवं विभिन्न चरणमा छलफल पनि गर्नेछ । ‘बिषेश गरि ५ बर्षमा यातायात क्षेत्रमा पुर्वाधार निर्माण गर्नको लागि हरेक बर्ष कसरी बजेट खर्च गर्ने भन्ने योजना बारेमा हो,’ श्रेष्ठले भने,‘समग्रमा सडक सञ्जाल पत्ता लगाउने हो । रोड कति छ, कहाँ छ, कस्तो अवस्थमा छ, ड्रेन कता छ भन्ने अध्ययन भएर म्याप तयार हुन्छ ।’

trans

उक्त म्यापको आधारमा रोडको वर्गीकरण गर्ने र सोही अनुसार ५ बर्षको बजेट विनियोजन हुने उनको भनाई छ । साथै, भुउपयोग नीतिसँग पनि जोडेर प्राथमिकता केलाई दिने भन्ने पनि प्रष्ट हुने श्रेष्ठले बताए । ‘यो पहिलो पटक बन्न लागेको हो । यो गुरुयोजना सडक सञ्जाललाई हो, र भविष्यमा सडकसँगै रेल, हवाई यातायातको पनि कुरा छ,’उनले भने,‘छिमेकी पालिका र प्रदेशस्तरीय सडक सञ्जालसँग जोड्ने कुरा पनि छ । यो गुरुयोजना अनिवार्य पनि हो, र हरेक नगरको आवश्यकता पनि हो ।’ 

बजेट छरेर जताततै खर्च गरेर बाटो बनाउनुभन्दा योजनावद्धरुपमा खर्च गर्न सकियो भने नतिजामुलक विकास हुने भएकोले गुरुयोजना बनाउन लागिएको उपमहानगरपालिकाको भनाई छ । ‘आज पहिलो नगरस्तरीय बैठक भएको हो । यो पछि वडा वडामा तथ्यांक संकलन गर्ने र विभिन्न चरणमा छलफल हुन्छ,’श्रेष्ठले भने । 

भिडियो: