धरान: स्वतन्त्ररुपमा निवार्चित धरानका मेयर हर्क साम्पाङलाई बुधबार कार्यकक्षमा भेटेर पुर्वजनप्रतिनिधिहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । 

पुर्वजनप्रतिनिधिहरुले ध्यानाकर्षण पत्र बुझाउदै विगतमा जनसहभागिताकोरुपमा (६०–४०) भइरहेको कामलाई मेयर साम्पाङले श्रमदानको नाममा अघि बढाएको उल्लेख छ । पुर्वजनप्रतिनिधिहरुले मेयर साम्पाङले विगतमा उठाएको खानेपानी समस्या समाधान, त्यसबेलाको व्यवस्थापकप्रतिको अभद्र प्रस्तुती र हालको कामकारबाही, योजना लागत, संस्थान र बोर्डबीचको समायोजन, खानेपानी महशुल, ट्यांकरबाट वितरण गर्दा तिर्नुपर्ने बिल, भ्रष्टचारको कुरा, सुशासन र पारदर्शिताबारे २ बर्षसम्म कुनै तथ्य, प्रमाण वा जानकारी नगरबासीलाई नगराएको भन्दै ध्यानाकर्षण गराएका छन् ।

पुर्वजनप्रतिनिधिहरुले श्रमदानको नाममा शुरु गरेको अभियानलाई अल्पकालिन र दीर्घकालिनरुपमा व्यवस्थित र योजनाबद्ध बनाउन जरुरी रहेको पनि औल्याइएको छ । ‘उक्त कार्यहरुको स्वामित्व र वैधता के छ ?’ ध्यानाकर्षण पत्रमा प्रश्न उठाइएको छ ।

महालेखा परीक्षकको कार्यालयबाट श्रमदान अभियानमा भएको खर्चमाथि बेरुजु देखाएर कानुनी प्रश्न उठेको, सरकारको बजेट प्रणाली क्षमता विकासँग सम्बन्धित लिसा कार्य सम्पादन मुल्यांकनमा विगतमा भन्दा खस्किएको भन्दै उनीहरुले महत्वपुर्ण र दीर्घकालिन योजना निर्माणहरुमा सम्भाव्यता अध्ययन गरेर मात्र निर्माण कार्य अघि बढाउन जरुरी देखिएको बताएका छन् । 

tilak rai 1

हालको खानेपानीसँग सम्बन्धित योजनाहरुमा संघसंस्था, दातृनिकाय र सहयोगीदाताहरुले धराने जनताको नाममा दिएको करोडौं रकमबाट निर्मित संरचनाहरु भरपर्दो, दीर्घकालिन, सुरक्षित र फलदायी बन्न नसकेको भन्दै पुर्वजनप्रतिनिधिहरुले प्रश्न गरेका छन् । ‘ती कामहरुले अहिलेको अभावलाई समाधान गर्नसक्यो ?’ कति समाधान गर्यो या गरेन ? ती संरचनाहरु निर्माण हुँदा बोर्ड, उपमहानगरपालिकाको बजेट लगानी भयो वा भएन, त्यसको यथार्थता सहयोगीदाताहरु र नगरबासीलाई जानकारी गराउनु भयो ?’ ध्यानाकर्षण पत्रमा प्रश्न गरिएको छ ।

पुर्वजनप्रतिनिधिहरुले खानेपानी व्यवस्थापनको प्रमुख व्यक्ति कार्यकारी अधिकृत खुल्ला प्रतिस्पर्धाबाट नियुक्तीको प्रक्रिया अघि नबढाई मेयर साम्पाङ आफैले विगतमा आरोप लगाएका व्यक्ति (राजु पोख्रेल)मार्फत नै व्यवस्थापन, सञ्चालन भइरहेको र नगरबासीहरुले उठाएको चासोलाई कसरी हेर्नुभएको छ ? भन्दै मेयर साम्पाङलाई प्रश्न गरिएको छ । खानेपानीको मुद्दालाई प्राथमिकतामा राखेर नगर प्रमुख बनेपनि खानेपानी लगायत अन्य समस्या लिएर आउने नगरबासीलाई गैरजिम्मेवार व्यवहार र प्रसंगहरु आइरहेको भन्दै पुर्वजनप्रतिनिधिहरुले मेयर साम्पाङको निन्दा पनि गरेका छन् ।

यसैगरि, धरान स्थापनाकालदेखि नै बहुल सँस्कृति, बहुल सभ्यताको परिचयनका साथ समृद्धिको बाटोमा अघि बढीरहेको तर मेयर साम्पाङले सामाजिक सञ्जालमा अभिव्यक्त विचार, क्रियाकलापले धरानको सामाजिक, धार्मिक, साँस्कृतिक सद्भाव र सहिष्णुतामा मनोवैज्ञानिक आँच आएको र यस्तो भावना, विचारले धरानको विकास र समृद्धिमा दीर्घकालिन असर पर्ने पनि ध्यानाकर्षण पत्रमा उल्लेख छ । ‘तपाई प्रमुख रहेको स्थानीय सरकार र सरोकार राख्ने निकायमा तपाईको त्यस निकायसँग सरोकार राख्ने सहकर्मीहरुप्रतिको उदासिनताले गर्दा सेवाग्राही नगरबासीहरुले पाउनुपर्ने सेवा, सुविधाहरुमा ह्रास आइरहेको महशुस तपाईले पनि गर्नुभएकै होला, नृतृत्वको हैसियतले समन्वय गर्ने जिम्मेवारी तपाईको हैन ?’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

harka sampang

पुर्वजनप्रतिनिधिहरुले फोहारमैला व्यवस्थापन, सुकुम्बासी व्यवस्थापन, बसपार्क व्यवस्थापन र सञ्चालन, औद्योगिक ग्राम, राजमार्ग व्यवस्थापन, वीपी प्रतिष्ठानलगायतको बिषयमा प्रभावकारी भुमिका नदेखिएको र नागरिकस्तरबाट बढी गुनासोहरु आइरहेकोले जिम्मेवारी, गम्भीरताका साथ यथार्थताको धरातलमा रहेर नेतृत्व गर्न आग्रह पनि गरिएको छ । साथै, उक्त बिषयहरुको समाधानको पहलकदमी तुरुन्त गर्न आग्रह गर्दे पुर्वजनप्रतिनिधिहरुले अनुभव र योगदान आवश्यकताको आधारमा दिन र लाग्न तयार रहेको पनि उल्लेख गरेका छन् । 

मेयर साम्पाङलाई बुझाइएको ध्यानाकर्षण पत्रमा पुर्वमन्त्री तथा संविधानसभा सदस्य मिनबहादुर विश्वकर्मा, संविधानसभा सदस्य किरणकुमार राई, संविधानसभा सदस्य कृष्णकुमार राई, निवर्तमान प्रतिनिधिसभा सदस्य जयकुमार राई, पुर्वप्रतिनिधिसभा सदस्य कुन्ता शर्मा, प्रदेशसभाका निवर्तमान सभामुख प्रदिप भण्डारी, निवर्तमान प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, निवर्तमान प्रदेशसभा सदस्य उमिता बराइली, निवर्तमान प्रदेशसभा सदस्य सावित्री जोशी, निवर्तमान मेयर तिलक राई, पुर्वमेयर मनोजकुमार मेन्याङ्बो, पुर्वमेयर कुमारबहादुर कार्की, निवर्तमान उपमेयर मञ्जु भण्डारी, पुर्वउपमेयर मिनकुमार सुब्बाले हस्ताक्षर गरेका छन् । साथै, ध्यानाकर्षण पत्र बुझाउन पुर्ववडाअध्यक्ष, कार्यपालिका सदस्यहरु पनि सहभागी थिए । 

भिडियो:

भिडियो:

भिडियो: