धरान: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को कृषि तथा खाद्य प्रविधि बिशिष्टिकृत अनुसन्धान केन्द्रको कार्यालय स्थापना भएको छ ।

धरान १६ स्थित पुरानो मालपोत कार्यालय रहेको भवनमा शुक्रबार एक समारोहबीच मेयर हर्क साम्पाङ र नाष्टका उपकुलपति प्रा.डा.दिलिप सुब्बाले उक्त कार्यालयको उद्घाटन गरे । नाष्टका सचिव डा.रविन्द्रप्रसाद ढकालका अनुसार नाष्ट एकेडेमी भएकोले कुनै निजी कलेजसँग प्रतिस्पर्धा गर्न नआएको प्रष्ट्याउदै अनुसन्धान कार्यमा सहयोग गर्ने बताए । कृषि र खाद्य प्रविधिको क्षेत्रमा अनुसन्धान केन्द्र देशभरिको लागि यही मात्र भएकोले प्रादेशिक नभै यो केन्द्रीय अनुसन्धान केन्द्र नै भएको उनले बताए । अन्य प्रदेशका अरु नै बिषयको अनुसन्धान केन्द्र स्थापना हुने पनि उनले प्रष्ट पारे । 

धरानका मेयर साम्पाङले प्रकृति, प्रविधि र सँस्कृतिको समुचित विकास हुँदा मात्र देशको विकास हुने आफ्नो धारणा रहेको बताए । उनले नाष्टलाई भौतिक पुर्वाधार सम्पन्न बनाउन केन्द्र सरकारसँग पनि माग गरेको जानकारी दिदै केन्द्र र प्रदेशको मात्र आशा नगरि भवन निर्माणको पहल गर्ने पनि बताए । 

नाष्टका अध्यक्ष प्रा.डा.दिपिल सुब्बाका अनुसार २०७८ सालमा नै नाष्टलाई प्रदेशस्तरमा विस्तार गर्ने निर्णय भएर काम अघि बढाएको बताए । कोशी प्रदेशका कृषिप्रधान र खाद्य उद्योगहरु बढी भएकोले यहाँ कृषि तथा खाद्य प्रविधिको बिशिष्टकृत अनुसन्धान केन्द्र बनाउने निर्णय भएको पनि उनले बताए । अब यो केन्द्रले कृषि उत्पादन वृद्धि गर्न नविन प्रविधिको प्रयोग गर्ने र खाद्य सुरक्षाको चुनौतीलाई समाधान गर्न प्रयत्न गर्ने बताए । विभिन्न कलेज तथा विश्वविद्यालयसँग सहकार्य गरेर प्रयोगशाला उपयोग गर्ने उनको भनाई थियो ।  विज्ञान तथा प्रविधिको विकास गर्दै देशको सर्वागिण विकास गर्ने उद्देश्यले २०३९ सालमा नाष्टको स्थापना भएको थियो । 


मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा. दिलनाथ फुँयालले अनुसन्धानबाट प्राप्त भएको नतिजालाई व्यवहारमा उतार्न सके मात्र मुलुकको हितमा हुने बताए । यस्तै, नाष्टका प्राज्ञ प्रा.डा.धनबहादुर कार्कीले नाष्टमा प्रदेशका जनताको पहुँच पुगेको भन्दै खुशी व्यक्त गरे ।

भिडियो: