धरान: धरान रन संस्थाले “धरान रन नेवा एजुकेशन फन्ड २०८१” अन्तर्गत शनिवार १३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ।

धरानका ९ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १३ जना विद्यार्थीहरुलाई भानुचौकस्थित धरान रनको कार्यालयमा शैक्षिक सामग्री प्रदान गरेको हो । गतबर्ष ११ जनालाई छात्रवृत्ति प्रदान गरेका संंस्थाले यो बर्ष २ जना थप गरि १३ जनालाई छात्रवृत्ति सेवा प्रदान गरेको जनाएको छ । संस्थाले विद्यार्थीका लागि आवश्यक स्कुल व्याग, एक थान स्कुल ड्रेस, ट्रयाकसुट, जुत्ता, मोजा, कापीकलम लगायत आवश्यक शैक्षिक सामग्रीहरु प्रदान गरेको जानकारी दिएको छ । 

शैक्षिक सामग्री विरतण कार्यक्रमका प्रमुख अतिथि नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई, धरान रनका अध्यक्ष रोमु राई लगायत संस्थाका सदस्यहरुले प्रदान गरेका थिए । यो बर्षदेखि रनले छात्रवृत्ति प्रदान गरेका विद्यार्थीहरु मध्येबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान एवं पुरस्कार पनि प्रदान गर्न शुरुवात गरेको छ । यो बर्षका उत्कृष्ट विद्यार्थी पुरस्कार प्राविधिक शिक्षा बिषय लिएर शिक्षा सदन स्कुलमा कक्षा ९ मा अध्ययनरत नमुना कट्टेलले पाएकी छिन् । उनलाई प्रोत्साहन गर्न धरान रनले विशेष पुरस्कर प्रदान गरेको थियो ।

dharan run 1

संस्थाको अक्षय कोषमा रहेको १२ लाख रुपैयाबाट आएको व्याज रकमले शैक्षिक सामग्री प्रदान गरिएको अध्यक्ष रमु राईले जानकारी दिए । त्रैमासिकरुपमा व्याजबाट आएको रकमले छात्रवृत्ति प्राप्त विद्यार्थीहरुलाई आवश्यकता अनुसार शैक्षिक सामग्री वितरण गरिने अध्यक्ष राईको भनाई छ । शनिवार ५२ हजार रुपैया वरावरको शैक्षिक सामग्री वितरण गरिएको पनि उनले बताए । 

१२ औं धरान १० के रनको आयव्यय सार्वजनिक 

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमकै समयमा धरान रनको अयोजनामा २०८० फागुन १० गते सम्पन्न १२ औ धरान रन १० के दौड प्रतियोगिताको आम्दानी सार्वजनिक गरेको छ । 

रनले १२ औ संस्करणमा खर्च कटाएर ३ लाख ६२ हजार २ सय २३ रुपैया वचत गरेको पनि जानकारी दियो । आम्दानी रकमबाट एजुकेशन फन्डको कोषमा एक लाख रुपैया जम्मा गरिएको र हाल अक्षय कोषमा १३ लाख रुपैया जम्मा भएको रनका अध्यक्ष राईले वताए । बाँकी रहेको रकमले हरेक हप्ता आयोजना हुने साप्ताहिक रन र अन्य सामाजिक गतिविधिमा खर्च गरिने आयोजक संस्था धरान रनले जानकारी दिएको छ । 

तस्विरः प्रतित चाम्लिङ राई