धरान: आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट तर्जुमाको पुर्वसन्ध्यामा राजश्व परामर्श समितिले मेयर हर्क साम्पाङलाई प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजकसमेत रहेका उपमेयर अइन्द्रबिक्रम बेघासहित सदस्यहरुले सोमबार मेयर साम्पाङलाई प्रतिवेदन बुझाएको हो । समितिले सरोकारवाला संघसंस्था, सुनसरी उद्योग वाणिज्य संघ, पुर्वजनप्रतिनिधिहरु सबैसँग परामर्श गरेर प्रतिवेदन तयार गरेको पनि संयोजक बेघाले बताए । उक्त प्रतिवेदनमा आगामी आर्थिक बर्षको लागि बजेट घटाउन प्रस्ताव गरिएको छ । यथार्थमा आधारित बजेट बनाउनको लागि बजेटको आधार घटाउन प्रस्ताव गरिएको उपमेयर बेघाले बताए ।

समितिले आगामी आर्थिक बर्षको प्रस्तावित आम्दानी १ अर्ब ६७ करोड ८४ लाख ९६ हजार मात्र बनाउन प्रस्ताव गरेको छ । यो चालु आर्थिक बर्षको बजेटभन्दा २.५९ प्रतिशत कमी हो । यथार्थमा आधारित बजेट बनाउन प्रस्ताव गर्दा आकार घटेको देखिएको उनले बताए । संघ र प्रदेश सरकारबाट आम्दानी हुने भनिएको कतिपय बजेट प्राप्त नहुदा पनि धरानको बजेट प्रभावित हुने उनले बताए । 

चालु आर्थिक बर्षमा कुल आय अनुमान १ अर्ब ७२ करोड ३१ लाख २५ हजार गरिएको थियो । हाल बैशाख मसान्तसम्मको यथार्थ कुल आय भने १ अर्ब २१ करोड ४४ लाख ४० हजार ३७२ मात्र रहेको छ । चालु बर्षमा अनुमानित आयको लक्ष्य भेट्याउन धरानलाई कठिन देखिन्छ । तर, अझै आर्थिक बर्षको २ महिना बाँकी नै रहेकोले आशावादी हुनुपर्ने उपमेयर बेघा बताउँछन् ।

budget1

बेघाका अनुसार धरानले करको दायरा बढाएर सबै ठाउँमा पुग्दा ८०, ९० करोड राजश्व संकलन हुन्छ । तर, यथार्थमा २५, २६ करोड मात्र राजश्व संकलन भइरहेको उनले बताए । लक्ष्य भने ३६ करोड हाराहारीमा छ । बजेटको आकार बढाएर ढाट्नुभन्दा आकार घटाएर जे हो, त्यही काम गर्नु उचित हुने पनि उपमेयर बेघाले बताए । 

प्रतिवेदन ग्रहण गर्दे मेयर साम्पाङले बजेट सोचेजस्तो नहुने बताए । ‘हामीले सोचेजस्तो नहुने । केन्द्र र प्रदेशमा पनि सोचेजस्तो आय छैन,’उनले भने,‘त्यही भएर बजेट घटाउने प्रस्ताव दिएको होला, बजेट सिमा सिलिङ समितिमा प्रतिवेदनसहित छलफल गर्नेछौं ।’ मेयर साम्पाङले यथार्थ बजेट बनाउने प्रयास गर्ने पनि बताए । ‘कागजमा बनाउने तर पछि बजेट दिन सकेनौ भने राम्रो हुन्न,’ उनले भने ।

प्रतिवेदन बुझाउन समितिका सदस्य सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, कार्यपालिका सदस्य विकास भाटी, देविका विश्वकर्मा, राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडाको पनि उपस्थिति रहेको थियो । 

भिडियो: