धरान: शनिबार वडा नं २० को ज्यामिरेमा झडप भएको घटनामा दुवै पक्षबीच सहमति भएको छ ।

अनेक अडकलबाजीका बीच मंगलबार भने दुवै पक्षबीच सहमति भएको हो । दुवै पक्षबीच बिहान र दिउँसो २ चरणमा छलफल भएर सहमति भएको थियो । वडा २० का अध्यक्ष पदम लिम्बु, वडा १८ का अध्यक्ष नरेन्द्र कुमार राई (प्रविण), वडा २० का पुर्वअध्यक्ष मणिराम राई, मेयर साम्पाङका पक्षबाट समिर तामाङ, सत्य घले गुरुङ, ज्ञान चाम्लिङ राईसहित छलफलमा बसेका थिए । 

दिउँसो करिब ३ बजे भएको छलफलमा घाइते भनिएका युवा र कुटपिट गर्ने भनिएका स्थानीय युवाहरु पनि उपस्थित थिए । कुटपिट गर्नु गल्ती भएको पनि स्वीकार गर्दै भविष्यमा दुवै पक्षले यस्तो घटना नदोहोर्याउने सहमति गरेको छलफलमा सहभागी सत्य घलेले जानकारी दिए । एकअर्कामा मिलेर काम गर्ने र कोकाह २ श्रमदानलाई अवरोध नगर्ने सहमति भएको उनले बताए । 

उक्त घटना उग्र हुने स्थिति देखेपछि साम्य गराउन लागिपरेका वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले समस्या समाधान भएकोमा खुशी व्यक्त गरे । ‘सबै मिलेर नै अघि बढ्नुपर्छ, एकअर्कामा झगडा गरेर हुदैन । त्यसैले हामी सबै बसेर मिलायौं,’उनले भने,‘राम्रोसँग समाधान भयो ।’

कोकाहबाट दोस्रो पटक पानी ल्याउन मेयर हर्क साम्पाङसँगै पुगेका श्रमदाता र असन्तुष्ट स्थानीयबीच झडप भएको थियो । त्यसक्रममा श्रमदानमा गएका एक युवा घाइते भएका थिए । उक्त घटनाको केहीबेरमा नै मेयर साम्पाङ र वडा २० का जनप्रतिनिधि, स्थानीय वार्तामा बसेर लिखित सहमति गरिसकेका थिए । 

तर, भोलीपल्ट (आइतबार) मेयर साम्पाङका समर्थकसहित घाइतेले स्थानीयविरुद्ध प्रहरीमा उजुरी गरेपछि अघिल्लो दिनको सहमति भाडिने दिशामा अघि बढेको थियो । सोमबार पुनः वडा २० का स्थानीय पनि उजुरी दिन ईलाका प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले भने दुवै पक्षको उजुरी दर्ता गरेको थिएन ।

यो घटनाले पुनः धरान अशान्त बन्ने मात्र होइन, द्धन्द बढ्दै गए कोकाह प्रोजेक्ट के होला भन्ने चिन्ता पनि शुरु भएको थियो । धरानका राजनीतिकर्मीहरुले आपसमा जनतालाई भिडाउने काम गरेको भन्दै मेयर साम्पाङको चर्को आलोचना गरेका थिए भने मेयर साम्पाङले स्थानीय जनताले नभै राजनीतिक दलकै नेता, कार्यकर्ताहरु परिचालित भएर अवरोध गरेको आरोप लगाएका थिए।