धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) करिब दुई साता लामो युके भ्रमणमा जादैछन् ।
युके भ्रमण जाने चर्चा चलेपछि मेयर साम्पाङले कार्यवाहक मेयरको जिम्मेवारी कस्लाई दिनेछन् ? भन्ने सबैलाई चासोको बिषय थियो । एक साताभन्दा बढी विदा बस्नुपर्दा मेयरले अनिवार्यरुपमा कार्यवाहक दिनुपर्ने कानुनी बाध्यता छ । आज (बिहिबार) देखि दशैं विदा हुने भएकोले मेयर साम्पाङले बुधबार वडा नं ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक मेयरको जिम्मेवारीको पत्र थमाएका छन् ।
वडा नं ११ का अध्यक्ष फागोले मेयर साम्पाङले पत्र दिएपनि कामको चाप र ब्यस्तताले हेर्न नभ्याएको बताए । उनले भने, ‘पत्र चै दिनुभएको छ, कार्यवाहकको कुरा सुनेको छुँ । तर ब्यस्तताले हेर्न भ्याएको छैन । आज हेर्छु, र हो भने हो भन्छुँ ।’
स्थानीय तहका प्रमुख वा अध्यक्षले ७ दिनभन्दा बढी कार्यालय अनुपस्थित हुनुपरे उपप्रमुख वा उपाध्यक्षलाई कार्यवाहक दिनुपर्ने स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था गरिएको छ । यो कानुनी व्यवस्था विपरीत मेयर साम्पाङले कार्यवाहक दिएको भन्दै टिप्पणी पनि भइरहेको छ । वडा नं १८ का अध्यक्ष एवं नेपाली कांग्रेसका संसदीय दल नेता नरेन्द्रकुमार राई (प्रविण)ले भने यो सामान्य कुरा भएको बताए । विगतमा पनि तत्कालिन मेयर तारा सुब्बा र तिलक राईले वडाअध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिएको प्रसंग उनले खुलाए ।
यद्यपी त्यो बेला अहिले मेयर साम्पाङको जति लामो विदामा भने नभएको उनले बताए । 'यो त सामान्य कुरा हो जस्तो लाग्छ । पहिला पनि तारा सुब्बाको पालामा १५ को वडाअध्यक्षले कार्यवाहक पाउनुहुन्थ्यो, तिलक दाईको पालामा मैले पनि कार्यवाहक पाएको थिए, तर यति लामो विदा थिएन,'अध्यक्ष राईले भने, 'विश्वासको कुरा पनि हो । वडामा पनि ४ जना सदस्य हुन्छ, वडाअध्यक्षले एक जनालाई कार्यवाहक तोक्नुपर्ने हुन्छ । अध्यक्षले तजबिजले दिने गछौं ।'
मेयर साम्पाङ ३० गते युके उड्ने
मेयर साम्पाङ यही असोज ३० गते युके प्रस्थान गर्ने भएका छन् । उनी धरान समाज युके र सुम्निमा पारुहाङ प्रतिमा निर्माण समिति युकेको निमन्त्रणामा युके जान लागेका हुन् । मेयर साम्पाङसँगै श्रीमति निर्मला, छोरा र पत्रकार रोहित राई पनि युके जान लागेका हुन् ।
यी दुवै संस्थाको आयोजनामा सुम्निमा पारुहाङ प्रतिमा निर्माण गर्नको लागी सहयोग संकलन गर्ने उद्देश्यले युकेको विभिन्न स्थानमा मिट एण्ड ग्रिट कार्यक्रम हुदैछ । ती कार्यक्रमहरुमा मेयर साम्पाङ प्रमुख अतिथिकोरुपमा सहभागी हुने आयोजक संस्था धरान समाज युकेका उपाध्यक्ष भाष्कर राईले जानकारी दिए ।
आयोजकका अनुसार १९ अक्टोवरमा फोकस्टोन, २० अक्टोवरमा अल्डरसट, २५ अक्टोवरमा कार्र्लियन एभ हारो र २७ अक्टोवरमा स्विडनमा मिट एण्ड ग्रिट कार्यक्रम हुनेछ । यसबाहेक पनि अन्य कार्यक्रमहरु र भेटघाटमा मेयर साम्पाङ सहभागी हुने बताइएको छ ।