धरान: भ्वाइस अफ धरान २०८१ को विजेता धरान १२ का अनिश राई भएका छन् ।
विजयपुर एफएमको १६ औं बार्षिक उत्सवको अवसरमा आयोजित ओपन सिङ्गिङ कम्पिटिसनमा अनिश विजेता भएका हुन् । बुधबार साझँ विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा भएको फाइनलमा फष्ट रनरअप धरानका छिरिङ शेर्पा, सेकेण्ड रनरअप बराहक्षेत्रका सुमन राई र थर्ड रनरअप धरानकै एकराज लिम्बु भए ।
विजेताहरुलाई २५ हजार, १५ हजार, १० हजार र ५ हजार सहित ट्रफी र ६ महिनाको संगीत कोर्ष पुरस्कार प्रदान गरिएको छ । दर्शकको भोट सहित निर्णायक विजय राई, सम्वत अधिकारी र नवराज कपिल शर्मा सुनुवारकोे आधारमा भएको थियो ।
विजेताहरु सबैलाई धरान उपमहानगरपालिकाको नगर प्रमुख एवं प्रमुख अतिथि हर्कराज राईले संगीत कोषमा छुटाईएको केही रकम प्रदान गर्ने घोषणा पनि गरे। धरानमै गीत संगीत भर्ने स्टुडियो खोल्न आग्रह गर्दै उपमहानगरले सक्ने सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाएका थिए ।
संगीत क्षेत्रमा नयाँ अवसर तथा प्रतिभाको खोजी गर्न मुख्य उद्देश्यले कार्यक्रम आयोजना गरिएको विजयपुर एफएमकी कार्यकारी निर्देशक हिमाल राईले बताइन् । धरानमा विगत १६ बर्ष देखि निरन्तर संचालन हुदै आएको विजयपुर मिडिया ग्रुपद्वारा संचालित विजयपुर एफएम ९८.८ मेगाहर्ज हजार वाट क्षमतामा प्रसारण भइरहेको छ ।
भ्वाइस अफ धरानको फाईनलमा १० जना प्रतिस्पर्धी थिए । उनीहरु सबैले आफ्नै रचनाको गीत र संगीतमा प्रस्तुती गरेका थिए । यसरी आफ्नै गीत, संगीत सहितको प्रतिस्पर्धा नेपालमै पहिलो पटक भएको एफएमका बजार व्यवस्थापक प्रमोद पोर्तेलले बताए ।
टपटेनमा विजेता बाहेक आरती गौतम, सुमन परियार, निर्दोष रोक्का, निरज राई, गौैरव गुरुङ, टिकाराम राई परेका थिए । टपटेनमा परेका सबैजनालाई ६ महिनाको संगीत कोर्ष उपलब्ध गराइने आयोजकले जनाएको छ ।