धरान: मुक्कुमलुङमा केवलकार निर्माणको विरोधमा आह्वान गरिएको ९ जिल्ला लिम्बुवान बन्दको क्रममा धरानबाट २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जसपा नेपालका धरान उपाध्यक्ष सुमन चेम्जोङ र नागरिक उन्मुक्तिका कार्यकर्ता दिवस राई रहेको आन्दोलनकारीहरुले बताएका छन् । वडा प्रहरी कार्यालयअघि प्रहरीले हस्तक्षेप गरेर बाटो खुलाउन खोजेपछि बन्दकर्ता र प्रहरीबीच घम्साघम्सी परेको थियो । सोही क्रममा उनीहरु पक्राउ परेको नेता विष्णु थाम्दोनले जानकारी दिए । यस्तै, झापाको दमकबाट पनि केही बन्दकर्ताहरु पक्राउ परेको बताइएको छ ।
नौ जिल्लामा बन्द आह्वानले बिहानैदेखि यातायात सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । धरान, इटहरी, दमक, विर्तामोडलगायत मुख्य सहर र राजमार्गहरुमा बन्दकर्ताहरुको उपस्थितिले यातायात अवरुद्ध रहेको छ । अत्यावश्यक सेवाका सवारीसाधनहरुलाई रोक लगाइएको छैन भने मोटरसाइकल, टेम्पो, सफारी मात्र भित्रि सडकहरुमा गुडेका छन् । बजार, शैक्षिक संस्थाहरु भने खुल्ला छ ।
माघ १२ गते ताप्लेजुङमा सशस्त्र प्रहरीले आन्दोलनकारीलाई गोली चलाएर गम्भीर घाइते बनाएपछि मुक्कुमलुङ संरक्षण आन्दोलन चर्किएको हो । माघ १५ गतेदेखि मेची राजमार्ग, तमोर करिडोरमा यातायात बन्द गरिरहेको आन्दोलनरत पक्षले माघ २० र २१ गते अरुण पुर्व ९ जिल्लामा यातायात मात्र बन्दको घोषणा गरेको छ । दुई दिनमा पनि सरकारबाट केवलकार निर्माणको निर्णय खारेज नगरे २२ गतेदेखि अनिश्चितकालिन आमहड्ताल गर्ने घोषणा पनि मुक्कुमलुङ संरक्षण संघर्ष समितिले गरिसकेको छ ।
भिडियो:
भिडियो:
भिडियो: