धरान: धरानमा रहेका रोजगारदाता र श्रमिकहरुलाई जोड्ने पूलको रुपमा धरान रोजगार मेलाको पूर्वतयारी बैठक धरान उपमहानगरपालिकाको कार्यपालिक बैठक हलमा बिहिबार सम्पन्न भएको छ । 

उक्त बैठकले रोजगार मेला नयाँ बर्ष २०८२ को बैशाख ११ र १२ गते दुई दिन लगाउने निर्णय पनि गरेको छ । धरानका प्रमुख तथा प्रधानमन्त्रि रोजगार कार्यक्रम निर्देशक समितिका अध्यक्ष हर्कराज राई (साम्पांग) को अध्यक्षतामा सरोकारवालाहरुसँग भएको बैठकले मेलाको मिति तय गरेको हो ।

मेयर राईले ६ लेनको सडक निर्माण गर्नुमात्र विकास नभई जनताले गाडी किनेर सडकमा गुडाउन सक्ने हैसियत बनाउनु वास्तविक विकास भएको बताए । “जनताको आर्थिक विकास नै वास्तविक विकास हो तर आर्थिक विकास कसरी गर्ने भनेर केन्द्र सरकार, प्रदेश सरकार र हामी स्थानीय सरकारले पनि सोचीरहेका छौं,” मेयर राईले भने ।

मेयर राईले आर्थिक विकासका लागि नै रोजगार मेलाको आयोजना गरेको भन्दै उक्त मेला उत्पादन खरीद बिक्री गर्ने नभएर रोजगारको सुचना आदन प्रदान गर्ने मेला भएकोले सोही अनुरुप तयारी गर्न पनि निर्देशन दिए । यो अरु मेला जस्तो नभएर रोजगारदाता र रोजगारको खोजीमा रहेका व्यक्तिबीच सम्पर्क गराउने तथा सुचनाआदान प्रदान गर्ने किसिमको भएकोले हलभित्रै आयोजना गर्न तर व्यापकरुपमा प्रचारप्रसार गर्न पनि मेयर राईले निर्देशन दिए । आवश्यक पर्ने प्रशासनिक कामहरु मूल समितिलाई नै निर्णय गर्ने जिम्मा पनि मेयर राईले दिएका छन् । 

dharan rojgar mela1

धरान उपहानगरपालिकाले पहिलो पटक रोजगार मेला आयोजना गर्न लागेको प्रशासन महाशाखा प्रमुख बेदप्रसाद सापकोटाले बताए । “हामीले रोजगार सम्बन्धि अन्य कार्यक्रमहरु गर्दै आएता पनि यो पहिलो पटक रोजगार मेलाको तयारी गरिरहेका छौ,”रोजगार मेलाको मुख्य उद्देश्यबारे प्रष्ट पार्दै अधिकृत सापकोटाले भने, “रोजगार मेलाले रोजगारदाता र श्रमकर्ताहरुलाई एकै ठाउँमा जोडने काम गर्नेछ, साथै वैदेशिक रोजगारमा जान चाहने युवाहरुलाई सम्भावित रोजगार र सिपका बारेमा सेवाप्रदायक संस्थाहरुले परामर्श गर्नेछन् ।

मेलाले श्रमकर्तामा भएको क्षमता योग्यता अनुसार रोजगारदाताहरुले तुरुन्त रोजगार दिन सक्ने वातावरण सृजना हुने उपमहानगरपालिकाको भनाई छ । रोजगारदाताले खोजेको जस्तो र श्रमकर्तामा भएको क्षमता, योग्ता र दक्षता अनुसार तुरुन्त रोजगार पाउने पनि सापकोटाले बताए । 

बैठकमा आगामी कार्ययोजनासहितको प्रस्ताव उपमहागरपालिकाकी रोजगार कार्यक्रम संयोजक निर्मला बस्नेतले गरेकी थिइन् । रोजगार मेलामा ५ हजार हराहारीमा मेला अवलोकन गर्न आउने र ५ सय जनाले रोजगार पाउनसक्ने अपेक्षा गरेको बस्नेतले बताइन् । 

बैठकले सरोकारवाला रोजगार प्रदायक संस्था, सम्बन्धित निकाय तथा उपमहानगरपालिका सहितको २६ जनाको मूल समिति पनि निर्माण गरेको छ भने ७ जनाको सचिवालय पनि गठन गरेको छ । साथै विभिन्न उपसमितिहरु पनि बैठकले बनाएको छ । 

बैठकमा सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ, औद्योगिक क्षेत्र तिनकुनेका प्रमुख जीवनारायण बञ्जाडे, होटल व्यवसायीतर्फबाट सरोज श्रेष्ठ, भवन निर्माण व्यवसायीकोतर्फबाट नारायण लिम्बु, सामी कार्यक्रमको जिल्ला संयोजक धिरज भट्टराई, स्क्रिल डेभलपमेन्ट सोसाइटीका सेवक बजगाईलगायत मोबाईल सेन्टर, स्वास्थ्य सेवाका संचालकहरुको पनि उपस्थिती रहेको थियो ।

भिडियो :